काठमाडौं । दिव्यश्वरी हाईड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । जेठ २२ गते काठमाडौंको मैतीदेवीस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान ११ः३० बजेका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।
कम्पनीले जेठ २३ गते सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरेको जानकारी दिएको छ । सभाले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्ने कार्यक्रम थियो ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको थियो । प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव गरेको कम्पनीले समान उद्देश्य भएका कम्पनीहरूसँगै मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव गर्दै सो कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने योजना बनाएको थियो ।
यसअघि निर्धारित प्रस्तावहरू कायम गर्दै कम्पनील पुनः सभा आह्वान गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।