काठमाडौं । साताको अन्तिम दिन बिहीवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक ५ दशमलव ९९ अंकले घटेर २ हजार ६४० दशमलव ९६ विन्दुमा बन्द भएको हो ।
यस दिन २ हजार ६६१ दशमलव ७७ विन्दुसम्म पुगेको नेप्से २ हजार ६३५ दशमलव ३० विन्दुसम्म झरेको थियो । ९४ कम्पनीको धितोपत्र मूल्य बढ्दा यस दिन १५३ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । शिवम् सिमेन्टको शेयर मूल्य भने यो दिन स्थिर रही प्रतिकित्ता ५१८ रुपैयाँ ४३ पैसाले कायम भएको हो । घटेको बजारमा पाँच कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा वृद्धि भएको छ ।
रिभर फल्स पावरको शेयर मूल्य १० प्रतिशत बढेको छ भने बुटवल पावर कम्पनीको ९ दशमलव ९८ प्रतिशत, पियोर इनर्जीको ९ दशमलव ९८ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ९ दशमलव ५० प्रतिशत शेयर मूल्य बढेको हो ।
यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य भने ९ दशमलव ३० प्रतिशत घटेको छ । यसअघि निरन्तर उच्च दरमा मूल्य वृद्धि हुँदै आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य प्रतिकित्ता १८५ रुपैयाँ ४६ पैसा घटेर अन्तिम मूल्य १ हजार ८०९ रुपैयाँ २४ पैसा कायम भएको हो ।
पछिल्ला तीन कारोबार निरन्तर घटेको बजार आगामी दिनमा कुन दिशातर्फ जाला भन्नेमा अन्योल देखिएको छ । बिहीवारको कारोबारलाई लिएर बनेको मैनबत्ती डोजी आकृतिको छ । यस आकृतिले आगामी अवस्था अन्योल रहेको संकेत गर्दछ ।
यो दिन अघिल्लो दिनभन्दा कारोबार रकम बढेको छ । घटेको बजारमा लगानीकर्ताले सस्तोमा धितोपत्र खरीद गर्न चाहेको देखिएको हो । अघिल्लो कारोबार दिन ५ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको १ करोड ३७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको १ करोड ७१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यस दिन राधी विद्युतले कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको छ । राधी विद्युतको ९१ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । राधी विद्युतको शेयर मूल्य यो दिन साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिकित्ता ८४५ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
बिहीवार जलविद्युत समूहका लगानीकर्ताले कमाएको देखिन्छ । यस दिन लघुवित्त समूहको परिसूचक १ दशमलव १३ प्रतिशत बढेको हो । लघुवित्तसँगै लगानी समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ८५ प्रतिशत घटेको छ ।
कुल बजार पूँजीकरण फेरि ४४ खर्ब रुपैयाँभन्दा तल झरेको छ । अघिल्लो कारोबार दिन ४४ खर्ब ८ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बिहीवार ४३ खर्ब ९९ अर्ब १ करोेड ११ लाख रुपैयाँ कायम भएको हो ।