काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज खरीदका लागि लिएको ऋणको साँवाब्याजमध्ये हालसम्म ५ अर्ब ३६ करोड रूपैयाँ भुक्तानी गरेको छ । निगमले ऋणदाता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम भुक्तानी गरेको हो ।
निगम प्रवक्ता रमेश पौडेलले २०७९ असारदेखि २०८० चैत मसान्तसम्ममा उक्त रकम भुक्तानी गरिएको जानकारी दिए । १५ वर्षमा ऋण भुक्तानी गर्ने समय पाएको निगमले अन्तरराष्ट्रिय उडानका लागि ४ ओटा जहाज (दुई न्यारोबडी र दुई वाइडबडी) किन्न ती कम्पनीबाट ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले नागरिक लगानी कोषबाट १२ अर्ब र सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
उनीहरुले सरकारको जमानीमा निगमलाई ऋण दिएका थिए । निगमले अन्तरराष्ट्रिय उडानका जहाज किन्न सञ्चय कोषबाट सन् २०१५ र नागरिक लगानी कोषबाट सन् २०१७ मा ऋण लिएको थियो । निगमले यी दुई कम्पनीबाट लिएको ऋणको साँवाब्याज गरी ४८ अर्ब रूपैयाँभन्दा बढी ऋण दायित्व भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।