बैंकहरूको सम्पत्तिको गुणस्तरले समग्र बैंकिङ क्षेत्रको स्वास्थ्यस्थितिको प्रतिनिधित्व गर्ने भएकाले विश्वव्यापी रूपमा नै त्यसको बारेमा चर्चा हुने गरेको छ । साथै विश्वव्यापी रूपमा नै नियामक निकायहरूले बैंकिङ क्षेत्रको सम्पत्तिको गुणस्तरलाई अत्यन्त नजिकबाट आवधिक रूपमा मूल्यांकन गरिरहेका हुन्छन् । सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई पनि यसप्रति सजग बनाएर सम्पत्तिको गुणस्तर कायम राख्न मद्दत पुगोस् भनेर विश्वभरि नै बैंकिङ क्षेत्रमा कतिपय सूचक तथा अनुपातहरूलाई सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने व्यवस्था पनि गरिएको हुन्छ । बैंकिङ सुपरिवेक्षणसम्बन्धी बासेल समिति (बीसीबीएस)ले पनि बैंकहरूले स्वघोषणा गर्नुपर्ने विषयहरू यसलाई पनि समावेश गरेको छ । यो सानो आलेखमा बैंकिङ सम्पत्तिको जानकारी, तिनको महत्त्व र तिनको गुणस्तर खस्कन नदिन गर्नुपर्ने विभिन्न कार्यहरूको बरेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सबैभन्दा पहिले बैंकिङ सम्पत्तिको बारेमा संक्षेपमा चर्चा गरौं । सामान्य अर्थमा बुझ्ने हो भने बैंकिङ सम्पत्ति भन्नाले बैंकहरूसँग स्वामित्वमा रहने मौद्रिक एवं भौतिक वस्तुहरूलाई बुझ्न सकिन्छ । बैंकहरूको मुख्य व्यवसाय नै द्रव्यसँग सम्बद्ध भएको अर्थमा बैंकहरूको स्वामित्वमा हुने मौद्रिक राशीलाई नै बैंकिङ सम्पत्ति भनी बुझ्न सकिन्छ । बैंकहरूमा सर्वसाधारणले जम्मा गर्ने निक्षेपको रकमको स्वामित्व सम्बद्ध निक्षेपकर्तामै निहित हुने भएकाले त्यसलाई बैंकको सम्पत्ति मान्न सकिँदैन । ठीक त्यसै गरी बैंकका लगानीकर्ताले जम्मा गरेको पूँजी पनि अन्ततोगत्वा उनीहरूकै स्वामित्वमा रहने भएकाले त्यसलाई पनि बैंकको सम्पत्तिका रूपमा बुझ्न हुँदैन । त्यसैले बैंकको निक्षेप र पूँजीजस्ता दायित्वभन्दा पृथक् बैंकले कर्जा स्वरूप प्रवाह गर्ने रकमलाई बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्ति मान्न सकिन्छ । यसै कारण बैंकहरूले धितो स्वरूप प्राप्त गरेका अचल सम्पत्तिहरूलाई बैंकिङ सम्पत्तिको रूपमा नभई ‘गैरबैंकिङ सम्पत्ति’ भन्ने गरिन्छ । सम्पत्ति धेरै हुनु र थोरै हुनुभन्दा पनि सम्पत्तिको गुणस्तरले बैंकिङ सफलताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सबैको चासो बैंकिङ सम्पत्तिको गुणस्तरमा नै रहने गर्छ ।
कर्जा प्रवाह गर्ने बेलामा गरिने बृहद् विश्लेषण र उपयुक्तता परीक्षणले पनि भविष्यमा कर्जाको गुणस्तर बिग्रनबाट जोगाउने हुन्छ । त्यसका अतिरिक्त सुपरिवेक्षकीय प्रभावकारिताले समेत सम्पत्तिको गुणस्तर कायम गर्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
सन् २००७ पछि देखिएको विश्वव्यापी वित्तीय संकटको एक प्रमुख कारकका रूपमा न्यून गुणस्तरको बैंकिङ सम्पत्तिलाई नै लिने गरिन्छ । त्यसैले पनि अहिले नेपालमा विद्यमान आर्थिक चुनौतीका लागि बैंकिङ सम्पत्तिको गुणस्तरले कस्तो भूमिका निर्वाह गरेको छ भन्ने पहिचान गर्न अन्तरराष्ट्रिय मुद्राकोषले नेपालका ठूला १० ओटा बैंकको सम्पत्तिको विस्तृत रूपमा मूल्यांकन गर्ने योजना बनाएको छ ।
हालै मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्वको अवस्थाका बारेमा गरेको अध्ययन प्रतिवेदनले पनि नेपालको बैंकिङ क्षेत्रको जोखिममा वृद्धि भएको उल्लेख गरेको छ । गतवर्ष शून्य दशमलव ४ प्रतिशत रहेको जोखिम सूचकांक अहिले बढेर शून्य दशमलव ६९ प्रतिशत पुगेको छ र यसका लागि बैंकिङ सम्पत्तिको गुणस्तरमा आएको ह्रासले प्रमुख भूमिका खेलेको जनाइएको छ । बैंकहरूको खराब कर्जाको प्रतिशतमा महीनैपिच्छे भएको वृद्धिले पनि उनीहरूको सम्पत्तिको खस्कँदो गुणस्तरलाई नै इंगित गरेको छ ।
नेपालमा यसअघि पनि वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत विश्वबैंक र अन्तरराष्ट्रिय मुद्राकोषको सहयोगमा सन् १९९९ मा नै तीनओटा सरकारी बैंकहरूको सम्पत्तिको मूल्यांकन भएको थियो ।
कमसल बैंकिङ सम्पत्तिका नकारात्मक प्रभाव
कमसल प्रकृतिका बैंकिङ सम्पत्तिको कारण बैंकको कर्जा नोक्सानी व्यवस्था बढ्ने, पूँजीकोषको अनुपात बढाउनुपर्नेजस्ता कारणले नाफामा संकुचन आउने हुन्छ । त्यसो भए पछि सम्पत्ति एवं इक्विटी प्रतिफल कम हुनेजस्ता नतिजा देखिन्छन् । यसले आधारदरसमेत वृद्धि गराई कर्जाको ब्याजदर माथि पनि दबाब सृजना गर्छ । जब कर्जाको ब्याजदर बढ्न थाल्छ, त्यसले समग्र उत्पादनको लागत बढाउँछ र मूल्य वृद्धिका लागि बाटो खुलाउने गर्छ ।
समग्रमा बैंकिङ सम्पत्तिको गुणस्तरमा आउने ह्रासले अर्थतन्त्रमाथि नै गम्भीर प्रकारका प्रभावहरू पर्ने भएकाले पनि बैंकिङ सम्पत्तिको गुणस्तरका बारेमा विश्वव्यापी रूपमा नै चासो र महत्त्वका साथ निगरानी गर्ने गरिन्छ ।
बैंकको आन्तरिक नीति प्रभावकारी नहुनु र कर्जा विश्लेषण प्रक्रिया फितलो भइदिनाले पनि सम्पत्तिको गुणस्तर माथि सम्झौता हुन सक्छ । त्यसैले विभिन्न तहगत कर्जा स्वीकृति प्रक्रिया अवलम्बन गर्ने प्रकारको नीतिगत व्यवस्थाले उच्च गुणस्तर कायम गर्न मद्दत गरेको हुन्छ ।
बैंकिङ सम्पत्तिको गुणस्तरका लागि जिम्मेवार तत्त्व
बैंकको सम्पत्तिको गुणस्तरलाई धेरै तत्त्वहरूले प्रभावित पारिरहेका हुन्छन् । ती तत्त्व सबै बाह्य मात्र हुँदैनन् । कतिपय आन्तरिक विषयहरूले समेत गुणस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले आन्तरिक तत्त्वहरूलाई पनि उत्तिकै महत्त्वका साथ हेर्नुपर्ने हुन्छ ।
बैंकको आन्तरिक नीति प्रभावकारी नहुनाले र कर्जा विश्लेषण प्रक्रिया फितलो भइदिनाले पनि सम्पत्तिको गुणस्तर माथि सम्झौता हुन सक्छ । त्यसैले विभिन्न तहगत कर्जा स्वीकृति प्रक्रिया अवलम्बन गर्ने प्रकारको नीतिगत व्यवस्थाले उच्च गुणस्तर कायम गर्न मद्दत गरेको हुन्छ ।
त्यसै गरी संस्थाको जोखिम व्यवस्थापन प्रक्रियाले पनि सम्पत्तिको गुणस्तर निर्धारणमा अहं भूमिका निर्वाह गरेको हुन्छ । सबल कर्जा मूल्यांकन, अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको उपस्थितिले पनि सम्पत्तिको गुणस्तरलाई कायम गर्न मद्दत गर्छ । कर्जा प्रवाह गर्दा क्षेत्रगत एवं भौगोलिक रूपमा विविधता कायम गर्ने हो भने त्यसले पनि कुनै क्षेत्र विशेषमा आउने संकटबाट समग्र रूपमा कर्जाको गुणस्तरमा ह्रास आउन सक्ने सम्भावनाबाट मुक्ति पाइने हुन्छ ।
आन्तरिक नियन्त्रण एवं लेखापरीक्षण प्रणाली प्रभावकारी भएको बैंकमा तुलनात्मक रूपमा सम्पत्तिको गुणस्तर माथि अनावश्यक सम्झौता नहुने भएकाले त्यसले पनि सम्पत्तिको गुणस्तरलाई खस्किन नदिने अवस्था विद्यमान रहन्छ ।
त्यस्तै कर्जालाई सदाबहार बनाउने प्रवृत्तिले पनि कर्जाको गुणस्तर खस्काएको देखिन्छ । नेपालमा मात्र होइन, अन्यत्र पनि जुन प्रयोजन र परियोजनाका लागि कर्जा प्रवाह भएको हो, उक्त प्रयोजन र परियोजनामा कर्जा सदुपयोग नहुने कारणले गर्दा कर्जाको स्वाभाविक भुक्तानी चक्रमाथि प्रभाव परिरहेको हुन्छ । यसरी भुक्तानी चक्रलाई बिगार्ने प्रकृतिको कर्जा भए पछि उक्त कर्जाको गुणस्तर यसै कमजोर हुने नै भयो । त्यसमाथि त्यस्तो कर्जालाई असुली प्रक्रियामा लगेर चुक्ता गर्नेतिर नलागी कर्जा चुक्ता गर्ने प्रयोजनका लागि वा कर्जाको आंशिक सावाँब्याजको भुक्तानीका लागि अर्को कर्जा दिएर अथवा परियोजनाको बारेमा पुनर्लिखित योजनाको आधारमा नवीकरण गर्दै गएर कर्जाको गुणस्तरलाई झन् कमसल बनाउदै लाग्ने गरिन्छ । यसले अल्पकालमा सम्बद्ध बैंकको वासलातलाई बिग्रनबाट त जोगाउन सक्छ तर कार्पेटमुनि धूलो थुपारेजस्तो भविष्यमा कुनै न कुनै दिन त्यो कर्जा असुली प्रक्रियामा जाँदा त्यसले गम्भीर वित्तीय विचलन ल्याउने निश्चित हुन्छ । त्यसैले पनि कर्जाको सदाबहारीकरण कार्यलाई एक किसिमले बैंकिङ कसूरकै रूपमा लिने गरिन्छ ।
अझ यस्तो कार्य समग्र बैंकिङ क्षेत्रमा नै आम रूपमा गरिने गरिएको छ भने त त्यसले प्रणालीगत जोखिम निम्त्याई समग्र अर्थतन्त्र नै संकटग्रस्त हुने भएकाले पनि यस्तो परिपाटीको अन्त्य हुनु जरुरी देखिन्छ । २०१४ मा विश्व बैंकले जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ ले पनि नेपालमा कर्जा सदाबहार बनाइने आमप्रवृति रहेको आशंका गर्दै उपलब्ध तथ्यांकका आधारमा यथार्थ रूपमा वित्तीय स्वास्थ्यका बारेमा यकीनका साथ भन्न नसकिने भाव व्यक्त गरेको थियो ।
उच्च ब्याजदरका कारण पनि ऋणीहरूले समयमा नै कर्जा चुक्ता गर्न नसक्ने हुन्छन् । समयमा चुक्ता नहुने कर्जालाई खर्च जनाएर तथा अतिरिक्त पूँजीको जोहो गरेर सुरक्षण गर्नुपर्ने कारणले बैंकहरूको वासलात बिग्रने तथा अतिरिक्त कर्जा प्रवाह गर्ने क्षमता पनि संकुचित हुने हुन्छ । तर, खराब कर्जा बढी भए पछि शेयर धारकहरूले लाभांश पनि प्राप्त नगर्ने अवस्था हुने हुनाले बैंकहरूमा सकेसम्म कर्जाको गुणस्तरलाई खराब नदेखाउने प्रवृत्ति देखिन्छ । यसरी ब्याजदरका कारण पनि प्रत्यक्ष रूपमा बैंकिङ सम्पत्तिको गुणस्तरलाई कमसल बनाउन भूमिका निर्वाह गरेको हुन्छ ।
कार्यक्षेत्रमा खटिने कर्मचारी एवं व्यवस्थापन तहमा रहेका मानिसको कार्य–कुशलता, इमानदारी, योग्यता एवं क्षमताले पनि कर्जाको गुणस्तर माथि प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । प्रभावकारी कर्जा असुली पद्धति र प्रक्रिया अवलम्बन गर्ने बैंकले पनि समयमा नै खराब सम्पत्तिको व्यवस्थापन गरी समग्र सम्पत्तिको गुणस्तरलाई बिग्रन दिँदैन । माथि उल्लेख गरिएका आन्तरिक तत्त्वहरूका साथै कतिपय बाह्य तत्त्वहरूले पनि बैंकिङ सम्पत्तिको गुणस्तरमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
देशको समग्र अर्थ व्यवस्थाको स्वास्थ्य अवस्थाले पनि प्रत्यक्ष बैंकिङ सम्पत्तिको गुणस्तरमाथि प्रभाव पार्छ । आर्थिक वृद्धि, मुद्रास्फीति, बेरोजगारीजस्ता अर्थतन्त्रका अवयवहरूको मात्राले ऋणीहरूको कर्जा भुक्तानी गर्ने क्षमता निर्देशित गर्छ र कमजोर भुक्तानी क्षमताले सम्पत्तिको गुणस्तरलाई कमजोर बनाउने कुरामा सन्देह छैन ।
नियमनकारी निकायको कमजोर अनुगमनले पनि कर्जाको दुरुपयोगमाथि नियन्त्रण गर्न नसक्ने भएकाले कर्जाको गुणस्तर खस्काइरहेको हुन्छ । नेपालमा घरजग्गा क्षेत्रमाथि अनियमित एवं अनियन्त्रित भएको कर्जाको दुरुपयुक्त लगानीले अहिलेको अवस्था सृजना भएको मान्नेहरू प्रशस्त छन् । अर्थ–राजनीतिक नीतिगत स्थायित्वको अभावमा पनि आर्थिक वृद्धि अवरुद्ध हुन गई बैंकको सम्पत्तिको गुणस्तर खस्किने वातावरणको सृजना हुन्छ ।
बैंकका प्रमुख ठूला ऋणीहरूको वित्तीय अवस्थाले पनि कुनै पनि बैंकको सम्पत्तिको गुणस्तरलाई निर्धारण गर्न अहं भूमिका निर्वाह गर्छ । साथै देशको अर्थ व्यवस्था एवं आर्थिक स्वास्थ्यका बारेमा आम सर्वसाधारण विश्वस्त हुन नसकेमा पनि त्यस्तो अवस्थाले कर्जा भुक्तानी गर्न उनीहरू आलटाल गर्ने हुन्छन् र त्यसले पनि कर्जाको गुणस्तरलाई न्यूनीकरण गरेको हुन्छ ।
समग्रमा बैंकिङ सम्पत्तिको गुणस्तरमा आउने ह्रासले अर्थतन्त्रमाथि नै गम्भीर प्रकारका प्रभाव पर्ने भएकाले सजगताका साथ तिनको गुणस्तर कायम गरिरहनु जरुरी हुन्छ । त्यसका लागि प्रभावकारी एवं उपयुक्त आन्तरिक एवं बाह्य लेखापरीक्षण पनि हुनु जरुरी छ । विशेष गरी कर्जाको प्रयोगको बारेमा निरन्तरको अनुगमनले पनि गुणस्तर कायम गर्न मद्दत गर्छ । कर्जा प्रवाह गर्ने बेलामा गरिने बृहद् विश्लेषण र उपयुक्तता परीक्षणले पनि भविष्यमा कर्जाको गुणस्तर बिग्रनबाट जोगाउने हुन्छ । त्यसका अतिरिक्त सुपरिवेक्षकीय प्रभावकारिताले समेत सम्पत्तिको गुणस्तर कायम गर्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
लेखक बैंकर हुन् ।