एउटा कथाको सारांशपछि विषयमा प्रवेश गरिनेछ । एक व्यक्ति दलदलमा फसेको रहेछ । त्यही बाटो हिँडिरहेका एक अर्को व्यक्तिले देखेपछि उसलाई निकाल्न ‘हात देऊ’, ‘हात देऊ’ भन्दै कराएछ । तर, दलदलमा फसेको व्यक्तिले नसुनेको झैं गरेछ । त्यतिबेलै अरू व्यक्ति पनि आएछन् र तिनले दलदलमा फसेको व्यक्तिलाई तान्न खोजिरहेको व्यक्तिलाई ‘उसले दिन जानेको छैन, लिन मात्र जानेको छ, आफ्नो हात उसलाई लेऊ भन्नुपर्छ’ भनेछन् । सोहीअनुसार तान्न खोज्ने व्यक्तिले ‘मेरो हात लिऊ’ भन्नासाथ हात दिएछ । यसरी दलदलमा फसेको व्यक्तिलाई बाहिर निकालिएछ । कथा यत्ति हो, यसको सम्बन्ध पछिल्लो अनुच्छेदमा कतै जोडिनेछ ।
बाइब्याक
भारत तथा अन्य देशका शेयरबजारमा सूचीकृत कम्पनीले आफ्नो शेयर आफै किन्ने (बाइब्याक) घोषणा गर्नु अनौठो मानिँदैन । यो नियमित प्रक्रियाजस्तै हो । सामान्यतया कम्पनीले शेयर जारी गर्छन । आफू (कम्पनी) ले जारी गरेको आफ्नै शेयर शेयरधनीबाट किन्न पाइन्छ भन्ने सुन्दा नेपालको सन्दर्भमा अनौठो लाग्न सक्छ । तर, अनौठो मान्नुपर्ने कुनै कारण छैन । नेपालमा यस्ता उपकरणको उपयोग गर्नुको सट्टा हुने भए ‘हरेक दिन’ पूँजी बढाउने थिए । पूँजी बढाउँदा–बढाउँदा त्यही पूँजीले थिच्दा पनि ‘पूँजी नै पुगेन’ भन्ने आलाप बारम्बार सुनिन्छ । ३५ अर्ब रुपैयाँभन्दा बढी पूँजी भएको ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८०/८१ मा १ प्रतिशत भए पनि पूँजी बढाएरै छाड्यो । ३५ अर्ब रुपैयाँभन्दा बढी पूँजी हुँदा पनि १ प्रतिशत अर्थात् ३५ करोड रुपैयाँभन्दा बढी पूँजी बढाउनुपर्ने आधार र कारण केही थिएन, तैपनि बढाए । अपवादलाई छोड्ने हो भने नेपालका कुनै पनि सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकलाई पूँजी बढाउनेबाहेक अरू कुरा थाहै छैन भन्दा फरक पर्दैन । नत्र पूँजी घटाउने उपकरण उपयोग गरिहाल्थे वा पूँजी बढाउनुको सट्टा हरेक वर्ष केही रकम सञ्चित कोषमा राख्थे । यस्तो रकमले भविष्यमा आउने पूँजी समस्या समाधान गर्न मद्दत पुर्याउने थियो ।
लाभांश बाँडेपछि पनि बाँकी रहेको रकम छ भने मात्र बाइब्याक गर्न सकिन्छ । योभन्दा बाहेकको रकमले बाइब्याक गर्न पाइँदैन । त्यस्तै, कुनै पनि प्रकारले ऋण लिएर र वैधानिक जगेडामा रहेको रकमबाट पनि बाइब्याक गर्न पाइँदैन ।
यहीँनेर आइपुग्दा शुरूको अनुच्छेदमा उल्लिखित कथाको सन्दर्भ जोडिन्छ । कथाको दलदलमा फसेको व्यक्ति जस्तै नेपालका सूचीकृत कम्पनी पनि दलदलमा फसेका छन् । दलदलमा फसेको व्यक्तिलाई बाहिर निकाल्न ‘हात माग्दा’ दिँदैन । तर, तान्ने व्यक्तिले ‘मेरो हात लिऊ’ भन्दा एकै झट्कामा दिन्छ । यो कुरालाई पूँजी बढाउने कुरासँग जोडेर हेर्न सकिन्छ । दलदलमा फसेको व्यक्तिलाई बाहिर निकाल्न उसलाई ‘हात देऊ’ भन्दा दिँदैन भनेको कम्पनीका सञ्चालक तथा व्यवस्थापकले पूँजी मात्र बढाउन खोजेर कम्पनीलाई दलदलमा भास्दै लगे जस्तै हो । तर, पूँजी बढाउने कुरामा भने २४सै घण्टा ध्यानमग्न हुन्छन् । पूँजी बढाउने मात्र होइन, घटाउने पनि वित्तीय उपकरण छ । यस्तो उपकरण उपयोग गर्दा त्यसको फाइदा शेयरधनी र कम्पनी दुवैलाई हुन्छ । पूँजी बढाउँदा शेयरधनी र कम्पनी दुवैलाई हानि मात्र हुन्छ । पूँजी घटाउने यस्तो उपकरणलाई ‘बाइब्याक’ भनिन्छ । इनिसियल पब्लिक अफरिङको ठीक उल्टो ‘बाइब्याक’ हो । कम्पनी कानूनले तोकेको शर्त पूरा गरी कुनै पनि कम्पनीले आफ्नो शेयर आफै किन्न सक्छन् । भारतलगायत अन्य देशमा बाइब्याक साधारण कुरा हो ।
किन गर्छन् बाइब्याक
कुनै पनि क्षेत्रका कम्पनीले बाइब्याक गर्न सक्छन् । कम्पनीले गरेको आम्दानीबाट शेयरधनीलाई मनग्य लाभांश दिएर पनि सञ्चित कोषमा रकम बढ्दै गएमा त्यस्ता रकम खर्च गर्ने अर्को शीर्षक नहुँदा शेयर बाइब्याकको रणनीति अपनाउन सक्छन् । शेयरधनीले धारण गरेको शेयरबजार मूल्यमा केही प्रिमियम थपेर किन्ने हुँदा बजार मूल्यभन्दा माथिको थप रकम शेयरधनीको लागि थप आम्दानी हुन्छ । त्यस्तै, कम्पनीको वित्तीय अवस्था बलियो हुँदाहुँदै पनि शेयरको आपूर्ति बढी भएका कारण शेयर मूल्यमा कमी आउँदा कम्पनीले शेयर मूल्य बढाउन पनि बाइब्याक गर्न सक्छन् । त्यस्तै, विशेष परिस्थिति (जस्तै : २०७२ सालको भूकम्प र २०७६/७७ को कोरोना) मा मूल्यमा अत्यधिक गिरावट आउन थालेपछि कम्पनीप्रति शेयरधनीलाई विश्वास जगाउन आफ्नो शेयर आफै किन्छन् । शेयर बाइब्याक गर्दा कारण खुलाउनुपर्ने हुँदा कस्ता–कस्ता कारण हुनसक्छन् भन्ने सन्दर्भमा कम्पनी निर्देशिका, २०७२ को दफा ३७ (क), (ख) र (ग) मा क्रमश: कुनै समूहले बढीभन्दा बढी शेयर किनेर प्रतिरोधी कब्जा (होस्टाइल बिडर) गर्न खोजेमा, अतिसानो संख्यामा छरिएर रहेका शेयर स्वामित्व (अनइकोनोमिक युनिट) हटाउन र दुई प्रतिस्पर्धी कम्पनीमध्ये कुनै एक कम्पनीले अर्को कम्पनीको शेयरको ठूलो अंश खरीद गरी त्यस्तो कम्पनीको व्यवस्थापनमा नियन्त्रण गर्न खोजेको अवस्थामा त्यस्तो प्रतिस्पर्धी कम्पनीको एकाधिकार रोक्न जस्ता उदाहरण दिएको छ । यीबाहेक अन्य कारण तत्कालीन परिस्थितिमा निर्भर हुन्छ ।
अपवादलाई छोड्ने हो भने नेपालका कुनै पनि सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकलाई पूँजी बढाउनेबाहेक अरू कुरा थाहै छैन भन्दा फरक पर्दैन । नत्र पूँजी घटाउने उपकरण उपयोग गरिहाल्थे वा पूँजी बढाउनुको सट्टा हरेक वर्ष केही रकम सञ्चित कोषमा राख्थे ।
बाइब्याकका लागि स्रोत
आफ्नो शेयर आफै किन्न पाइन्छ भन्ने बुझिएपछि बाइब्याक गर्ने रकम कहाँबाट आउँछ भन्ने प्रश्न आउन सक्छ । बाइब्याकका लागि कम्पनीले सञ्चित नाफामा रहेको रकम मात्र उपयोग गर्नसक्छन् । सञ्चित नाफाको सम्बन्धमा कम्पनी ऐन, २०६३ को दफा १८२ (६) आकर्षित हुन्छ । उक्त दफाअनुसार पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार ह्रासकट्टी गर्नुपर्ने रकम, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आवमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेको हुनुपर्छ । यसैको प्रतिबन्धात्मक व्यवस्थामा कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवस्था पालना गर्नुपर्ने कम्पनीले त्यस्तो जगेडा वा सञ्चित कोष खडा गर्नुपर्छ । कम्पनी ऐनको यस दफामा भएको व्यवस्थाअनुसार रकम बाँडफाँट गरेर बाँकी रहेको रकमलाई सञ्चित नाफा भनिन्छ । यही रकमबाट लाभांश वितरण हुन्छ । लाभांश बाँडेपछि पनि बाँकी रहेको रकम छ भने मात्र बाइब्याक गर्न सकिन्छ । योभन्दा बाहेकको रकमले बाइब्याक गर्न पाइँदैन । त्यस्तै, कुनै पनि प्रकारले ऋण लिएर र वैधानिक जगेडामा रहेको रकमबाट पनि बाइब्याक गर्न पाइँदैन । भारतमा शेयर प्रिमियम रकमले बाइब्याक गर्न सकिने व्यवस्था छ ।
नेपालमा बाइब्याक
नेपालका सूचीकृत कम्पनीले किन बाइब्याक गर्दैनन् भन्ने आम प्रश्न हुनसक्छ । यस्तो प्रश्न स्वाभाविक पनि हो । तर, विडम्बनाको कुरो के छ भने नेपालका सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापक शुरूको अनुच्छेदमा वर्णित कथाको ‘दिन नजान्ने, लिन मात्रै जान्ने’ पात्र जस्तै छन् । यहाँ ‘दिन नजान्ने’ भन्नाले पूँजी घटाउने बाइब्याक उपकरणको कुरै नसुन्ने तर, ‘लिन मात्रै जान्ने’ भन्नाले अलिअलि भएको सञ्चित नाफा रकमलाई वर्षैपिच्छे बोनसमार्फत पूँजीकृत गरिहाल्ने स्वभावका छन् । नेपालका सूचीकृत कम्पनी यस्तै ‘लिन मात्रै जान्ने’ स्वभावले गर्दा वर्षैपिच्छे पूँजीको भारले थिचिइरहेका छन् । नेपालका सूचीकृत कम्पनी एकदुईबाहेक अधिकांशले बाइब्याक गर्नसक्ने स्थिति छैन । क्षमता भएका कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पनि बाइब्याक गर्नुको सट्टा २० प्रतिशत बोनस शेयर जारी गरेको थियो । तत्काल नेपालका सूचीकृत कम्पनी (खासगरी बैंक) ले यस्ता उपकरण उपयोगमा ल्याइहाल्ने स्थिति छैन, बरु पूँजी बढाएर आधा खर्ब (५० अर्ब) रुपैयाँ हाराहारी पुर्याएको देख्न धेरै वर्ष पर्खिराख्नु पर्दैन ।
दाहाल, कर्पोरेट र धितोपत्र कानूनका अध्येता–अधिवक्ता हुन् ।