निकै लामो राजनीतिक विवाद, अन्तर्विरोध र आशंकाहरूबीच शेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् र मंगलवार उनले शपथ पनि लिएका छन् । लामो समयपछि बोर्ड अध्यक्षको नियुक्ति भएको दिन शेयरबजारले हरियो संकेत देखाएको छ तर अध्यक्षको कार्यकाल भने निकै चुनौतीपूर्ण देखिन्छ । विगतका अत्यधिक अध्यक्ष विवादमा आएको र राजीनामा गर्नसमेत परेको अवस्थामा श्रेष्ठका लागि यो नियुक्ति चुनौती र अवसर दुवै देखिन्छ ।
बोर्ड अध्यक्षको नियुक्तिमा अहिले जस्तो दलहरूको प्रत्यक्ष चलखेल र हस्तक्षेप विगतमा कहिल्यै भएको थिएन । अघिल्लो सरकारको पालामा खाली भएको बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया नै दलहरूको स्वार्थ र व्यावसायिक घरानाहरूको लबिङले गर्दा निकै आलोचित भइरहेको छ । खासगरी उच्च व्यावसायिक घरानाले नियामक निकायमा आफ्नो पहुँच पुर्याएर आफ्नो स्वार्थअनुसार निर्णय गराउन भूमिका खेलिरहेको व्यापक चर्चा र विश्लेषण भइरहेको छ । नियुक्ति प्रक्रियामा अन्तरवार्तामा अनुपस्थित हुने, अदालत जाने जस्ता कुराले यो आशंकालाई मलजल गरेकै हो । जेहोस्, बोर्डले अध्यक्ष प्राप्त गरेको छ जुन सकारात्मक हो । तर, उनले के कसरी काम गर्छन् त्यसैका आधारमा उनको मूल्यांकन हुने एउटा पाटो त छँदै छ, साथै नेपालको पूँजी बजारलाई कुन बाटोतर्फ लैजाने भन्ने कुरा पनि यसले निर्धारण गर्नेछ । नेपालको शेयरबजार स्वच्छ नभएको, बुक बिल्डिङदेखि हकप्रद शेयरजारीसम्म, ब्रोकर लाइसेन्सदेखि भित्री कारोबारसम्म, नयाँ एक्सचेन्जदेखि कमोडिटी एक्सचेन्जको स्वीकृतिसम्ममा भित्री चलखेल भइरहेको विश्लेषण छताछुल्ल भइरहेको छ ।
सबैभन्दा विवादित र महत्त्वपूर्ण कुरा भनेको नयँँ एक्सचेन्जको अनुमति प्रक्रिया हुनेछ । नयाँ एक्सचेन्ज हात पार्नका लागि व्यावसायिक समूहहरूले ठूलै लगानी गरेको चर्चा निकै छ । उनकै नियुक्ति पनि निश्चित व्यावसायिक घरानाको स्वार्थमा हुन लागेको भनेर चर्चा भएको थियो । यस्तो आरोप मिथ्या भएको प्रमाणित गर्नु उनको लागि पहिलो चुनौती हुनेछ । यसमा स्वार्थ समूहको चलखेलबाट बचेर काम गर्न सके मात्रै उनको निर्णय विवादमा पर्ने छैन । अन्यथा यही विवादले उनलाई ठूलो समस्यामा नपार्ला भन्न सकिन्न ।
लामो समयदेखि कमोडिटी एक्सचेन्जको अनुमति दिने काम अड्किएर बसेको छ । यसमा पनि चलखेल भइरहेको छ भन्ने परिचर्चा छ । यो काम ढिला हुँदा कमोडिटी मार्केट नै बन्द अवस्थामा छ जुन विगतमा राम्रैसँग सञ्चालनमा थियो । नियमनका नाममा यसको विकास अवरुद्ध गरिएको छ जसले गर्दा लगानीकर्ताले लगानीको एउटा ठूलो विकल्प गुमाइरहेका छन् । त्यसैले यथाशीघ्र यसको समाधान गर्नुपर्छ जुन उनका लागि चुनौतीपूर्ण देखिन्छ । पारदर्शिता र प्रतिस्पर्धालाई मुख्य आधार बनाएर काम गरेमा आलोचना आफै मत्थर हुँदै जाने देखिन्छ । श्रेष्ठले कुन बाटो रोज्छन् त्यसले नै उनलाई आलोचनामुक्त वा विवादित बनाउने हो । यसमा उनको ध्यान जानुपर्छ ।
अहिले ५५ लाखभन्दा बढी लगानीकर्ता भएको शेयरबजारमा निकै चलखेल हुने गरेको छ । भित्री कारोबारदेखि शेयर निष्कासनसम्ममा चलखेल भइरहेको तथ्य सार्वजनिक भइरहेका छन् । त्यसैले यी कुरालाई ध्यानमा राखेर काम गर्नु नयाँ अध्यक्षको प्राथमिकता हुनुपर्छ । शेयरबजारको सुधारका लागि बुक बिल्डिङलाई व्यवसायीको चलखेलबाट मुक्त गर्नुपर्ने काम गर्नै पर्ने छ । त्यस्तै भित्री कारोबारमा भएका अनुसन्धानलाई निष्कर्षमा पुर्याउने र यस्ता कार्यलाई रोक्न उच्च प्राथमिकता दिने चुनौती नयाँ अध्यक्षलाई रहेको छ । त्यस्तै इन्ट्रा डे कारोबार, इन्डेक्स ट्रेडिङजस्ता नयाँ कारोबार गराउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । मुख्य कुरा नियमनलाई स्वच्छ र पारदर्शी बनाएर पूँजी बजारलाई परिपक्व बनाउन आवश्यक छ । यसैमा उनको सफलता मापन हुनेछ । नेपालको शेयरबजारको अहिले निकै फड्को मारेको छ तर छिमेकी मुलुकमा जत्तिको नियामक निकाय सबल बनेको छैन । कानूनी रूपमा बलियो भए पनि बोर्डले त्यो भूमिका निर्वाह गर्न सकिरहेको छैन । बैंकहरूका लागि जसरी राष्ट्र बैंकले बलियो नियमन गरिरहेको छ त्यस्तै सशक्त बोर्ड बनाउने नेतृत्व आवश्यक छ । यसैबाट उनको क्षमता र सफलता मापन हुनेछ ।