काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले नेपालको पूँजीबजार विकाससम्बन्धी विज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतवार काठमाडौंस्थित नेपालको पूँजीबजारको वर्तमान अवस्था, नेपालले पाएको क्रेडिट रेटिङ स्कोर साथै सोको विविध पक्षहरूका बारेमा विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष चिरञ्जीवी नेपाल, नबिल बैंंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनआईसी एसिया क्यापिटल लिमिटेडका सीईओ रमेन्द्र रायमाझी, डोल्मा एडभाइर्जसका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देल र केयर रेटिङ लिमिटेड भारतकी कार्यकारी निर्देशक रेवती कस्तुरे लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्र बैंकका पूर्वगर्भनर नेपालले १० महीनासम्म सेबोन नेतृत्वविहीन हुनुले नेपालको पूँजीबजारको अवस्था के छ भनेर देखाएको बताए । उनका अनुसार पूँजीबजारको नियामक निकाय जस्तो संस्था नेतृत्वविहीन हुनुले ५० खर्बको लगानी भएको संस्थाको गरिमा खस्केको छ ।
‘यस्तो हुनु भनेको लगानीकर्ताहरूको लगानीमाथि समेत लापरवाही गर्नु हो । नेतृत्व लिनका लागि नेपालमा दक्ष मान्छे नभएको हो भने बाहिरबाट भए पनि ल्याउनु पर्यो तर संस्थालाई नेतृत्वविहीन बनाएर राख्नु भनेको सर्वसाधारण जनताको लगानी लाई जोखिममा राख्नु हो,’ उनले भने ।
एनआरएन नेपालका डेभलपमेन्ट फन्डका सीईओ अनलराज भट्टराईले सहजिकरण गरेको प्यानल डिस्कसनमा नबिल बैंंकका सीईओ ढुंगानाले पनि नियामक निकाय नेतृत्वविहीन हुनुले पूँजीबजार समस्याग्रस्त अवस्थामा पुग्न जाने हुनाले यस विषयमा सम्बन्धित निकायले समेत ध्यान दिएर काम गर्नुपर्ने बताए ।
एनआईसी एशिया क्यापिटलका सीईओ रायमाझी र डोल्मा एडभाइर्जसका प्रबन्ध निर्देशक सिग्देलले नेपालले पाएको बीबी माइनस ग्रेड रेटिङले नेपालले वित्तीय दायित्व पूरा गर्नसक्ने सार्मथ्यलाई बढाएको बताएका छन् । सेबोन नेतृत्वविहीन भएको विषयमा बोल्दै रायमाझीले रेगुलेसन गर्ने निकायको यस्तो अवस्थाले पूँजीबजारलाई असर गर्ने बताए ।
केयर रेटिङ लिमिटेड भारतकी कार्यकारी निर्देशक कस्तुरेले पनि सार्वभौम साख मूल्यांकनमा नेपालले पाएको रेटिङको बारेमा चर्चा गर्दै यो रेटिङ तुलनात्मकरूपमा दक्षिण एशियामा राम्रो भएको बताइन् । यसले बाह्य लगानी ल्याउन सक्नुपर्नेमा उनले जोड दिइन् ।