व्यवसायीले सुनको भन्सार दर घटाउन माग गरेको निकै समयपछि बल्ल सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार आधा घटाएर १० प्रतिशत बनायो । भन्सार घटेपछि १३ हजार मूल्य कम भएको सुन व्यवसायीको भनाइ छ । यसरी मूल्य घट्दा स्टक सुनका कारण व्यापारीलाई घाटा हुने भए पनि उनीहरूले सरकारको यो निर्णयको स्वागत गरेका छन् । यसले सुनको आन्तरिक बजार र अर्थतन्त्रमा प्रभाव पार्ने देखिन्छ ।
नेपालले कच्चा सुनको आयातमा १५ प्रतिशत भन्सार लिइरहेकामा भारतले १५ बाट बढाएर २० प्रतिशत पुर्याएपछि नेपालले पनि भन्सार बढाएको थियो । भन्सार बढी भएकाले नेपालमा अवैध बाटोबाट सुन भित्रिन थाल्यो र त्यो सुन तस्करी भएर भारत जान थाल्यो । त्यही कारण भारत र नेपालका सीमा क्षेत्रमा भारू र नेपाली रुपैयाँबीच औपचारिक विनिमयदर भन्दा सस्तोमा भारतीय रुपैयाँ पाइन थालेको थियो । भारतले सुनको भन्सार दर घटाएपछि भने सीमाक्षेत्रमा भारूको मूल्य बढेको छ । यसले पनि भन्सार दरका कारण सुन तस्करी भएको थियो भन्ने देखाउँछ । यसरी सुन तस्करी हुँदा अनौपचारिक अर्थतन्त्र झनै मौलाएको थियो ।
त्यसैले, नेपालमा पनि भन्सार घटाउन व्यवसायीहरूले माग गरेका थिए । अहिले भन्सार घटाएपछि अब नेपालको बजारमा चोरीको सुनको आपूर्ति घट्ने अनुमान छ । सरकारले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ । नेपालमा बैंकहरूले सुन आयात गरी सुन व्यवसायीहरूलाई विक्री गर्दै आएका छन् । व्यवसायीले सीधै काँचो सुन आयात गर्न पाउँदैनन् । बैंकले आयात गरेको सुन विक्री नभइरहेको अवस्थामा पनि बजारमा सुन अभाव नभएकाले अवैध आपूर्ति भइरहेको अनुमान छ । अब भन्सार दर घटाएपछि यस्तो अवैध आयात कम हुने अनुमान गर्न सकिन्छ ।
सरकारले कच्चा सुनमा २० प्रतिशत भन्सार लिए पनि सुनका गरगहनामा भने ९ प्रतिशतमात्रै भन्सार लिइरहेको छ । यही कारण केही व्यवसायीले भारतबाट गहना ल्याएर नेपालमा विक्री गर्ने गरेको सुनचाँदी व्यवसायीहरूले नै बताएका छन् । कच्चा सुनको आयातमा २० प्रतिशत भन्सार र गहना आयातमा ९ प्रतिशतमात्रै भन्सार लगाउनु गलत नीति हो । यही कारण स्वदेशी व्यवसायी मर्कामा परेका छन् । सुनको भन्सार उच्च र गहनाको कम हुनुको परिणाम सुन आयातमा स्पष्ट देखिएको छ । चालू आवको ४ महीनामा गरगहना आयात करीब दोब्बर भएको छ । गत आवको कात्तिकसम्म ११ करोडका सुनका गरगहना आयात भएकोमा चालू आवको सोही अवधिमा १९ करोड पुगेको छ । तर, काँचो सुनको आयात भने निकै घटेको छ । गत आव कात्तिक मसान्तसम्म ८ अर्ब २० करोडको सुन आयात भएकोमा यस वर्षको सोही अवधिमा १ अर्ब ४२ करोडको मात्रै आयात भएको छ । त्यसैले कच्चा सुनमा भन्दा गहनामा कम कर लगाउनु उल्टो नीति हो भन्न सकिन्छ । सुनमा भन्सार दर बढाउँदा राजस्व बढ्ने सरकारी अनुमान फेल खायो किनभने यसले सुन तस्करी मौलायो र औपचारिक माध्यमबाट सुनको आयात करीब ठप्प भयो र राजस्व पनि उठेन ।
सुनमा भन्सार घटाएपछि अब सरकारको राजस्वमा पनि सकारात्मक प्रभाव पर्छ किनभने अब वैध बाटोबाट सुन आयात हुन थाल्छ । त्यसले औपचारिक अर्थतन्त्रलाई सबल बनाउँछ । त्यस्तै सुन व्यवसायी र कालिगढहरूले पनि काम पाउँछन् । त्यसैले यसको सकारात्मक असर पर्ने देखिन्छ । सुनमा मात्र होइन, अन्य उपभोग्य वस्तुमा पनि भारत र नेपालबीचको करको अन्तरले गर्दा निकै असर पारेको छ । भारतले जीएसटी लागू गरेपछि थुप्रै वस्तुको मूल्यमा यस्तै समस्या आएको छ । त्यसले गर्दा औपचारिक बाटोबाट नेपालमा सामान ल्याएर विक्री गर्ने व्यापारी घाटामा जानुपर्ने, उद्योग बन्द गर्नुपर्ने अवस्था आएको गुनासो बारम्बार आइरहेको छ । सरकारले यस्ता हरेक वस्तुको सूची बनाएर भारतले लिने करसँग मिल्ने गरी नेपालमा पनि कर लगाउनु आवश्यक छ । त्यसो गर्न सकियो भने नेपालको धेरै उद्योगको संरक्षण पनि हुन्छ, औपचारिक व्यवसायले फस्टाउने मौका पाउँछ र अवैध आयात पनि निरुत्साहित हुन्छ ।