काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बनेपाको आयोजनामा देशभरका शाखाका कर्मचारी सम्मिलित गोष्ठी सम्पन्न भएको छ। "प्रथम त्रैमासिक लक्ष्य प्रगति समीक्षा तथा अर्धवार्षिक लक्ष्य निर्धारण" शीर्षकमा आयोजित गोष्ठीमा देशभरका शाखाका ४६१ सहायक, शाखा प्रमुख, कार्यक्रम अधिकृत र प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रम कर्णाली प्रदेशको वीरेन्द्रनगरबाट शुरू भई कोशी प्रदेशको इटहरीमा समापन भएको थियो। गोष्ठीमा देशभरका शाखा र प्रदेशहरूको त्रैमासिक लक्ष्य प्रगतिको समीक्षा गर्दै समस्याको पहिचान र समाधानका उपायमा छलफल भएको थियो।
बुटवलमा आयोजित कार्यक्रममा संस्थाका संचालक समिति सदस्य पुष्पराज ढकालले उद्घाटन गरेका थिए । उनले संस्थाले चालू आर्थिक वर्षका लक्ष्य शतप्रतिशत हासिल गर्ने विश्वास व्यक्त गर्दै कर्मचारीहरूको योगदानको प्रशंसा गरे।
सहायक महाप्रबन्धक मनरुपा पौडेलले लेखा व्यवस्थापन र संस्थाको भावी रणनीतिबारे प्रष्ट पारिन्। कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले कर्जा लगानीसँग सम्बन्धित समस्याहरूको समाधानबारे जानकारी दिएका थिए ।
गोष्ठीमा कर्मचारीहरूले टिम स्पिरिट र अनुशासनका साथ काम गर्नुपर्नेमा जोड दिए । संस्थाको सेवामा बाधा पुर्याउनेहरूलाई कानुनी कारबाही गरिने उल्लेख गरे।
आरम्भ चौतारीले ग्रामीण क्षेत्रका गरिब तथा विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँने तथा व्यावसायिक सीप तालिम सञ्चालन गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख खुद नाफा कमाएको संस्थाले हालसम्म ४ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ।