काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि नि:शुल्क भिडियो एक्स -रे सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा शुरू गर्न लागेको हो । शुरूमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइने महानगरले जनाएको ।
आइतबार र सोमबार वडा नं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र विहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमा भिडियो एक्स रे सेवा सञ्चालन हुनेछ । यसकालागि स्वास्थ्य विमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गए सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।
महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ ओटा अनुमोदनको प्रक्रियामा रहेको महानगरले जनाएको छ ।
नसर्ने रोग पहिचान गर्न जाँच
स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच शुरू गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका थिए ।
स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. का अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्यांक तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ ।
विभागले हरेक महीनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महीनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महीनामा दृष्टि(आँखा तथा वातावरण), ज्येष्ठ महीनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थ्यकर खानापान तथा आरोथ्य जीवन सचेतना महीनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।
मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महीनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकाअनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यृ दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् ।
व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर – ओओपि) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ । रोगले समस्या सिर्जना गरे उपचारमा जानु पर्यो भने शुरूमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक छ ।
जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा
स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बिमा दर्ता गरिसक्ने योजना बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ ।
मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ । महानगरपालिकाभित्र अहिले १ लाख परिवार दर्ता हुनुभएको छ । यसमा करिव ४ लाख व्यक्ति समेटिनुहुन्छ । विमा कार्यक्रम शुरू भएका वडामा विरामीको चाप बढ्दै गएको छ ।
महानगरपालिकाले २०८० पुसमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।