ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले पर्यटक आकर्षण गर्न नयाँ प्याकजेका रूपमा हनी हण्टिङलाई प्रवर्द्धन गर्ने भएको छ । टानले गतसाता लमजुङको घनपोखरा गाविसमा रहेको भीर माहुरीको मह निकाल्ने कामलाई पर्यटकीय प्याकेजका रूपमा प्रवर्द्धन गर्न अध्ययनसमेत गरेको छ । उक्त अध्ययनबाट घनपोखरालाई हनी हण्टिङको प्याकेज बनाए प्रवर्द्धन गर्न गृहकार्य गरिरहेको टानका महासचिव मोहन लम्सालले जानकारी दिए ।
टानले अन्नपूर्ण सर्किटको वैकल्पिक पदयात्राको गन्तव्य बनाउन सकिने भन्दै लमजुङ वेशीशहरदेखि घनपोखरासम्म प्याकेज बनाउने भएको छ । नेपाली तथा विदेशी दुवै पर्यटक आकर्षण गर्न सकिने सो पदयात्रामार्फत हनी हण्टिङको प्याकेज प्रभावकारी र सान्दर्भिक हुने पनि टानको भनाइ छ । टानले नेपालीलाई २ रात ३ दिन र पर्यटकलाई ३ रात ४ दिनकोपदयात्रामार्फत प्याकेज बनाउने भएको छ । लमजुङकै घलेगाउँ–घनपोखरा होम स्टेलाई पनि प्रवर्द्धन गर्ने गरी प्याकेज बनाएर सदस्य कम्पनीलाई वितरण गर्ने टानका महासचिव लम्सालले बताए ।
वर्ष ८, अंक ७४, आइतवार १८ मङ्सिर, २०६९