मङ्सिर १८, इलाम । यो सिजनमा विदेशको मागअनुसार अर्ग्यानिक चिया पुर्याउन नसकिएको व्यवसायीले बताएका छन् । चिया उत्पादन हुने याम सकिदै गएपछि माग अनुसारको चिया पुर्याउन नसकिएको हो ।
इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले चियाको याम सकिएर कारखानामा अहिले दैनिक ५ सय किलो मात्र हरियोपत्ती आउने गरेको बताए । कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ । कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिदै आएको छ । कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्याउन नसकिएको सुब्बाको भनाई छ । उनको जस्तै अन्य चिया कारखानाबाट पनि पर्याप्त मात्रामा चिया उत्पादन हुन सकेको छैन ।
बाह्य मुलुकको मागअनुसार पुर्याउन नसक्दा स्थानीयस्तरमासमेत विक्रीका लागि व्यवसायीले चिया पाउन सकेका छैनन् । कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाई छ । कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रू. ८ सय देखि १५ हजारसम्ममा विक्री हुँदै आएको छ । कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १ सय रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् ।
कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरीद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ । मङ्सिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अर्ग्यानिक चिया उत्पादनसम्बन्धी तालिम दिइएको छ । सो कारखानाले उन्नतिबाट रू. एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.