साउन १८, वीरगञ्ज । बन्दरगाह सञ्चालक र भन्सार एजेण्टबीचको विवादका कारण बन्द भएको वीरगञ्ज सुक्खा बन्दरगाह सुचारु भएको छ । बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालि तत्कालका लागि भन्सार एजेण्टका शर्त मान्न तयार भएपछि शुक्रवार साँझदेखि बन्दरगाहमा अवरोध हटेको हो ।
टर्मिनलले सेवा प्रवाहमा मनोमानी गरेको आरोप लगाउँदै एजेण्टले बन्दरगाहको कामकारवाही ठप्प पारेका थिए । दुई दिनसम्मको काम बन्दले बन्दरगाहमा २ हजारभन्दा बढी कण्टेनर थुप्रिएका थिए ।हिमालयन टर्मिनलले बन्दरगाह सञ्चालनका लागि आवश्यकीय उपकरणको प्रबन्ध नगर्दा काममा ढिलाई भएको गुनासो एजेण्टको छ । बन्दरगाहले सहजीकरणको सट्टा अपारदर्शी तरिकाले जरीवाना लिएको आरोप उनीहरूले लगाएका छन् ।
हिमालयन टर्मिनलले तत्कालका लागि एजेण्टका सबै माग पूरा गर्ने र दीर्घकालीन समाधानका लागि सोमवार छलफल गर्ने सहमति भएको छ । सहमतिपछि एजेण्टको आन्दोलन स्थगित भएको वीरगञ्ज भन्सार एजेण्ट संघका पूर्वअध्यक्ष उमेश शर्माले बताए । ‘हिमालयन टर्मिनलले एजेण्टका तत्कालिन शर्त स्वीकार गरेको छ,’ शर्माले शनिवार भने, ‘विस्तृत विषय सोमवार बैठक बसेर टुंगो लगाउने सहमति भएको छ, अहिलेका लागि एजेण्टले काम पनि शुरू गरिसकेका छन् ।’
सन् २००४ मा सञ्चालनमा आएको यो बन्दरगाहमा वर्षेनी कण्टेनर र अन्य कार्गोको चाप बढ्दै गएको छ । व्यापारको चापअनुसार पूर्वाधार व्यवस्थापन हुन नसक्दा आयात निर्यात समस्याग्रस्त बनेको आयातकर्ता बताउँछन् । बन्दरगाह व्यवस्थापनले कण्टनेरको अवस्थितिका बारेमा अनलाइन अध्यावधिक नगरेको र जब अर्डरमा मनोमानी गरेको उनीहरूले बताए । बन्दरगाहको ढिलासुस्तीका कारण आयातकर्ताले विलम्व शुल्क तिर्नु परेको शर्माले बताए ।
हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरी भने भन्सार एजेण्टले अनावश्यक बलमिच्याइ गरेको बताउँछन् । बन्दरगाहको काम रोक्नु गलत भएको तर्क चौधरीले गरे । ‘काम सुचारु गर्नका लागि एजेण्टका शर्त मानिए पनि यसको टुंगो सोमवारको छलफलबाट लाग्ने छ,’ उनले बताए ।
भन्सारको मातहतमा रहेका एजेण्टलाई भन्सारले सहजीकरण र समन्वय गर्न नसक्दा बन्दरगाहको कामकारवाही ठप्प भएको आरोप हिमालयन टर्मिनलका एक उच्च अधिकारीले लगाए । बन्दरगाहले कण्टेनर र ओपेन कार्गो लोड अनलोडमा रिच स्टाइकर र क्रेन आवश्यक संख्यामा नदिएकाले काममा ढिलाई भइरहेको आयातकर्ताको भनाइ छ ।