काठमाडौं । फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा आज विश्व विजेता फ्रान्स मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधवार (आज) राति १२ः४५ बजे शुरु हुनेछ ।
फ्रान्स पछिल्लो संस्करणको फिफा विश्वकप विजेता टोली हो । अफ्रिकी महादेशको राष्ट्र मोरक्को भने पहिलो पटक सेमिफाइनल खेल्दैछ । यस्तोमा फ्रान्स उपाधिको नजिक पुग्ला कि मोरक्कोले उपाधि यात्रा जारी राख्ला ? फुटबलप्रेमीमाझ चासोको विषय बनेको छ ।
उक्त खेलको विजेताले पहिलो सेमिफाइनल खेलको विजेता टोली अर्जेन्टिनासँग आगामी आइतवार उपाधिका लागि भिड्नेछ । यसअघि मंगलवार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० पराजित गरेको थियो ।