काठमाडौं । सन् २०१४ को फिफा विश्वकपमा उपविजेता सीमित बनेको अर्जेन्टिना ८ वर्षपछि पुनः फाइनल पुगेको छ । मंगलवार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा पहिलो सेमिफाइनलमा क्रोएशियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको हो । अर्जेन्टिनालाई फाइनलिस्ट बनाउन जुलियन अल्भारेजले दुई तथा कप्तान लिओनल मेसीले एक गोल गरे ।
जितसँगै अर्जेन्टिना विश्वकप उपाधिबाट अब एक कदम मात्रै टाढा छ । आगामी आइतवार हुने फाइनलमा ऊ उपाधिका लागि फ्रान्स वा मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा जित हासिल गर्न सके अर्जेन्टिना ३६ वर्षपछि विश्वकपको उपाधि जित्नेछ ।
स्टार खेलाडी लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले उपाधि भित्र्याउन सक्लान् कि नसक्लान् ? अर्जेन्टिनी समर्थकमाझ चासोको विषय बनेको छ ।
अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । उक्त विश्वकपको फाइनलमा उसले पश्चिम जर्मनीलाई ३-२ पराजित गरेकाे थियाे । त्यसपछि सन् २०१४ मा विश्वकपको फाइनल पुगेको अर्जेन्टिनालाई जर्मनीले ०-१ ले स्तब्ध बनाएकाे थियाे ।