काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको उत्साह घट्दो क्रममा रहेको छ । सूचीकृत कम्पनीहरूले धमाधम गत वर्षको लाभांश प्रस्ताव गरिरहेको अवस्थामा पनि लगानीकर्तामा उत्साह भने खासै देखिँदैन । यस वर्ष पनि धेरै कम्पनीहरूले लाभांश नदिने भएका छन् भने दिने घोषणा गरेका कम्पनीहरूको पनि अघिकांशको घटेको अवस्था छ ।
वर्षभरि जोहो गरेको सम्पत्तिको मूल्य दैनिक घटिरहेको र प्रतिफल समेत घटेको कारण लगानीकर्ता निरास बनेको ब्रोकरहरू बताउँछन् । पछिल्लो समय हल्लाको पछि लागेर लगानी गर्ने परिपाटी बढ्दो क्रममा रहेसँगै गलत हल्लाले पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको अनुमान ब्रोकरहरूले लगाएका छन् । बजारप्रति नकारात्मक टिप्पणी बढी भइरहेकोले पनि यतिबेला लगानीकर्तामा अन्योलता बढेको बुझाई ब्रोकरहरूको छ ।
यो साता चार कारोबार दिन मात्र बजार खुला रहेकोमा तीन कारोबार दिन बजार घटेको छ । पहिलो कारोबार दिन ५१ दशमलव ३७ अंक घटेको बजार दोस्रो कारोबार दिन २ दशमलव ९५ अंक बढेको थियो । तेस्रो कारोबार दिन ५ दशमलव ६० अंकले घटेकोमा चौथो अर्थात् अन्तिम कारोबार दिन ३१ दशमलव ४३ अंकले बजार घटेर बन्द भएको हो ।
यो साताको चार कारोबार दिनमा ८५ दशमलव ४७ अंक अर्थात् ३ दशमलव १९ प्रतिशत नेप्से परिसूचक घटेको देखिन्छ । यससँगै नेप्से परिसूचक २ हजार ५९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
यो साता लगानीकर्ताले १ खर्ब ४१ अर्ब ७५ करोड ५९ लाख रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब ११ करोड ३६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७ अर्ब ३५ करोड ७७ लाख रुपैयाँमा झरेको हो ।
गत साताको तुलनामा यो साता कुल कारोबार रकम करीब ३३ प्रतिशत र कारोबार कित्ता ३५ दशमलव ४४ प्रतिशत कम भएको छ । नेप्सेका अनुसार गत साता २८ अर्ब ६९ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको ६ करोड १४ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १९ अर्ब ३० करोड ९१ लख ८९ हजार रुपैयाँ बराबरको ३ करोड ९६ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
औसतमा कारोबार रकम करीब १६ प्रतिशत र कारोबार कित्ता १९ दशमलव ३० प्रतिशत घटेको छ । गत साता औसतमा ५ अर्ब ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १ करोड २२ लाख ८८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ४ अर्ब ८२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको ९९ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
कारोबार रकम र कित्तामा आएको कमीलाई हेर्दा एकातर्फ केही लगानीकर्ता बजार अझै घट्छ भन्ने अन्योलमा रहेर शेयर विक्री गर्न सक्रिय छन् भने अर्कोतर्फ केही लगानीकर्ता बजार बढ्ने आशामा शेयर खरीद गर्न सक्रिय रहेको देखिन्छ ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | २,५९६.८२ | २,६८२.२९ | -८५.४७ | -३.१९ |
सेन्सेटिभ इन्डेक्स (अंक) | ४४५.७७ | ४५८.२२ | -१२.४५ | -२.७२ |
कारोबार रकम (रू. हजारमा) | १९,३०९,१८९.६५ | २८,६९८,२९१.३१ | -९,३८९,१०१.६६ | -३२.७२ |
कारोबार कित्ता | ३९,६६४,७५३.०० | ६१,४४१,९८५.०० | -२१,७७७,२३२.०० | -३५.४४ |
औसत कारोबार रकम (रू. हजारमा) | ४,८२७,२९७.४१ | ५,७३९,६५८.२६ | -९१२,३६०.८५ | -१५.९ |
औसत कारोबार कित्ता | ९,९१६,१८८.२५ | १२,२८८,३९७.०० | -२,३७२,२०८.७५ | -१९.३ |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | ४,३०७,३५७.७३ | ४,४४९,११३.६७ | -१४१,७५५.९४ | -३.१९ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
सर्वाधिक गुमाउनेमा व्यापारिक समूह
यो साताको कारोबारमा सबै समूहगत परिसूचकहरू घटेका छन् । गत साताको तुलनामा यो साता व्यापारिक समूहको परिसूचक सर्वाधिक घटेको छ । नेप्सेका अनुसार यो साता व्यापारिक समूहको परिसूचक ५ दशमलव १७ प्रतिशत घटेको छ । परिसूचकमा आएको कमीका आधारमा यो साता व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ ।
त्यस्तै वित्त समूहको ४ दशमलव ७९ प्रतिशत, जलविद्युतको ४ दशमलव शून्य ७ प्रतिशत, विकास बैंकको ४ दशमलव शून्य ६ प्रतिशत, लगानीको ४ दशमलव शून्य १ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव ४१ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३२ प्रतिशत, अन्यको २ दशमलव ६२ प्रतिशत, बैंकिङको २ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ४१ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ९३ प्रतिशत र लघुवित्तको १ दशमलव ९३ प्रतिशत परिसूचक घटेको छ । यो साता लघुवित्तको परिसूचक सबैभन्दा कम घटेको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
लघुवित्त | ४,८४४.५० | ४,९३९.९८ | -१.९३ |
म्युचुअल फण्ड | २१.३ | २१.७२ | -१.९३ |
उत्पादन तथा प्रशोधन | ६,७११.१५ | ६,८६५.५० | -२.२५ |
निर्जीवन बीमा | १२,५१२.५८ | १२,८२१.५७ | -२.४१ |
बैंकिङ्ग | १,३९२.३१ | १,४२७.८३ | -२.४९ |
अन्य | १,९२९.३१ | १,९८१.१९ | -२.६२ |
जीवन बीमा | १२,५०६.४८ | १२,९३६.४२ | -३.३२ |
होटल तथा पर्यटन | ६,३९९.९६ | ६,६२५.९७ | -३.४१ |
लगानी | ९८.८५ | १०२.९८ | -४.०१ |
विकास बैंक | ५,४५८.५९ | ५,६८९.५६ | -४.०६ |
जलविद्युत् | ३,४०२.२३ | ३,५४६.६८ | -४.०७ |
वित्त | ३,१०३.३० | ३,२५९.५२ | -४.७९ |
व्यापारिक | ४,६७५.२८ | ४,९३०.०८ | -५.१७ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)