काठमाडौं। तपाईं र तपाईंको महत्वपूर्ण जानकारीको बीचमा रहेको एउटै तगारो 'पासवर्ड' हो । हामी सबैले आफ्नो इमेल वा अन्य जानकारीहरू पासवर्डले सुरक्षित राख्ने गरेका छौं ।
कम्तिमा पनि पासवर्ड राखेर सूचना र जानकारीहरुलाई लुकाउन सफल हुन्छौं भन्ने भ्रम हामीमा छ । पछिल्लो साइबर सुरक्षाबारे सचेतना पनि बढेको छ । कस्तो खालको पासवर्ड सकेसम्म राख्नु हुन्न अनि पासवर्ड कस्तो राख्दा चाँहि ह्याक गर्न मुस्किल हुन्छ भन्नेबारे पनि हामीले धेरै कुरा पढेका छौं । तर सजिलै ह्याक हुने खालको पासवर्ड राख्नेहरू पनि कम छैनन् ।
के तपाईं सम्झन सजिलो हुने पासवर्ड प्रयोग गर्नु हुन्छ । त्यसो हो भने तपाईंको पासवर्ड सजिलै ह्याक गर्न सकिन्छ । तपाईं विश्वका झन्डै ५० लाख मानिस जस्तै हुनुहुन्छ भने तपाईंको पासवर्ड ‘पासवर्ड’ नै हुनु पर्छ । पासवर्ड व्यवस्थापक कम्पनी नर्डभीपीएनले सार्वजनिक गरेको सबैभन्दा धेरै प्रयोग भएका २०० ओटा पासवर्डले यही भन्छ । सूचिअनुसार पासवर्ड भन्ने भन्ने शब्द सबैभन्दा धेरै ४९ लाख २० हजार भन्दा धेरैले पासवर्डको रुपमा राखेका छन् ।
क्यापिटल पी वा ओ को सट्टामा जेरो प्रयोग गर्ने पनि एकदम कम छन् । यो पासवर्डलाई ह्याक गर्न १ सेकेन्ड पनि लाग्दैन । दोस्रो धेरै प्रयोगमा आएको पासवर्ड चाँहि १२३४५६ हो । यसलाई पासवर्ड बनाउने संख्या विश्वभर १५ लाख २३ हजार भन्दा धेरै छ । अर्को ४ लाख १३ हजार ले भने १ देखि ९ सम्मकै अंकलाई लहरै पासवर्ड बनाएका छन् । अंग्रेजी शब्द गेष्ट भने चौथो सबैभन्दा धेरै प्रयोगमा आएको पासवर्ड हो । क्वेर्टी, १२३४५६७८, ६ ओटा १, १२३४५ भने क्रमशः ५ देखि आठौं सर्वाधिक प्रयोग भएका पासवर्डका रुपमा रहेको छ ।
शीर्ष २०० मा रहेका अधिकांश पासवर्ड ह्याक गर्न १ वा दुई सेकेन्ड मात्रै लाग्छ । ह्याकिङका लागि सबैभन्दा धेरै समय लाग्ने पासवर्ड चाँहि ९१३६६६८०९९ हो । यसलाई ह्याक गर्न चार दिन लाग्ने प्रतिवेदनमा भनिएको छ । यो पासवर्ड चाँहि २६ हजार १५४ जनाले प्रयोग गरिरहेका छन् । गएको वर्ष सबैभन्दा धेरै प्रयोगमा आएको पासवर्ड १२३४५६ थियो । पासवर्ड चाँहि सूचीको पाँचौ स्थानमा थियो ।
नर्डपासले हरेक वर्ष सबैभन्दा कमजोर पवासवर्डहरुको सूचि सार्वजनिक गर्छ । तर पनि इन्टरनेटमा जोखिमयुक्त व्यवहार भने चलि नै रहेको छ । किबोर्डमा टाइप गर्न सजिलो खालको अंक, अक्षर र संकेतहरु मिलाएर पासवर्ड बनाउने इन्टरनेट प्रयोगकर्ताहरू धेरै छन् ।
अंक अक्षरको साथमा ठाउँठाउँमा संकेत अनि ठूला र साना अक्षरलाई राखिएको पासवर्डलाई बलियो मानिन्छ । तपाईंको पासवर्ड पनि सूचीभित्र परेको छ ? यदि छ भने तुरुन्तै परिवर्तन गर्नुहोस् । आफ्नो पासवर्ड कत्तिको बलिायो छ भनेर तपाईले नर्डपास, किपास र स्ट्रङ पासवर्ड जेनेरटरमा पनि हेर्न सक्नु हुन्छ । एजेन्सी