काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म २१ लाख ८ हजार २३२ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यी आवेदकहरुबाट अन्तिम दिन जेठ १३ गतेसम्म २ करोड ५८ लाख ९० हजार ६२० कित्ता आईपीओ खरीद माग भएको हो । जुन मागभन्दा १० दशमलव ७२ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले जेठ ९ गतेदेखि थप सर्वसाधारणका लागि २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो । यसअघि सर्वसाधारणतर्फको शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।