काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गते (बुधवार)देखि दोस्रो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकेको छ । अब बाँकी शेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।
कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ ।
यसबाहेक ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ भने सर्वसाधारणमा जारी गर्न लागिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।
छिटोमा जेठ १९ गतेसम्म निष्कासनमा रहने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ २८ गतेसम्म निष्कासन लम्बिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको परिचय
यो कम्पनी २०६३ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएर २०६७ जेठ १७ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । २०७८ माघ १२ गतेदेखि कम्पनी निरन्तर सञ्चालनमा रहेको छ ।
कम्पनीले लिजिङ्ग एण्ड फाइनान्सिङ, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकास, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत काम गर्दै आएको छ ।
कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । नेपाल खाद्य संस्थाको जमिन ३० वर्षका लागि लिजमा लिएर नेपालकै सबैभन्दा ठूलो कर्पोरेट कम्प्लेक्स निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ ।
कम्पनीले ललितपुरमा भैंसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हाल तेस्रो परियोजनको रुपमा गौशाला, काठमाडौंमा पशुपति मन्दिरको दक्षिणतर्फ रिङरोडमा जोडिएको करीब ४ रोपनी जमीन ३५ वर्षका लागि लिजमा लिएर क्रिष्टल पशुपतिका नाममा ७ तले भवन निर्माण भई आंशिक रूपमा होटल सञ्चालन गरिरहेको छ । कम्पनीले आगामी दिनमा देशका ७ ओटै प्रदेशमा एक-एक ओटा पर्यटनसम्बन्धी परियोजना विकास गर्ने लक्ष्य लिएको छ ।
पूँजी संरचना
अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ छ । हाल संस्थापकबाट चुक्ता भएको पूँजी भने ४१ करोड ८४ लाख ४० हजार ४०० रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ कायम हुनेछ । आईपीओबाट संकलित पूँजी कम्पनीले परियोजना निर्माण गर्न लिएको ऋण भुक्तानी र व्यवसाय विस्तार गर्न प्रयोग गर्ने बताएको छ ।
वित्तीय अवस्था
यो कम्पनीको अघिल्ला तीन आर्थिक वर्षको वित्तीय अवस्थालाई हेर्दा निरन्तर सञ्चित नाफामै रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा १ करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीले आर्थिक वर्ष ०७९/८० मा २ करोड ७० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा भने कम्पनी ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आथिक वर्षको अन्त्यसम्म कम्पनीले ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६३ पैसा छ ।
सञ्चालक समिति
यस कम्पनीमा हाल पाँच जनाको सञ्चालक समिति रहेको छ । शिवहरी दंगाल अध्यक्ष छन् भने सञ्चालकहरूमा सतिस न्यौपाने, नवराज विष्ट, सुष्मा लम्साल र भरत राज कोइराला छन् । कोइराला स्वतन्त्र सञ्चालकका रूपमा रहेका छन् ।
कम्पनीका अध्यक्ष दंगालले इन्जिनियरिङमा स्नातक गरेका छन् । कम्पनी स्थापनाकालदेखि नै सञ्चालक समितिमा रहेका अध्यक्ष दंगालसँग कम्पनीको ३० दशमलव ८८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
दोस्रो बजारमा पाउने पहिलो कारोबार मूल्य
ट्रेड टावरले प्राथमिक बजारमा लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरी त्यसको कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । दोस्रो बजारमा सूचीकृतपछि पहिलो कारोबार मूल्य बजार सञ्चालकले तय गर्नेछ ।
हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ ।
हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १२३ रुपैयाँ ९ पैसादेखि अधिकतम ३६९ रुपैयाँ २७ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।