काठमाडौं । फोनपेको आयोजनामा एशियन पेमेन्ट नेटवर्क (एपीएन) को २१औं फोरमको पहिलो बैठक गत मे ६ र ७ मा काठमाडौंमा सम्पन्न भएको छ । नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल भएको फोनपेको भनाइ छ । कार्यक्रममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधि भेला भई एशियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारणबारे छलफल गरेका थिए ।
फोरमले एशियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र रणनीतिक संवादको मञ्च प्रदान गरेको बताइएको छ । यस फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरण र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई बलियो पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएको बताइएको छ ।
फोरमको पहिलो दिन एपीएन को वार्षिक साधारणसभा सम्पन्न भएको बताइएको छ, जसमा एपीएन चार्टरमा अद्यावधिक, कार्ड र नन–कार्ड सीमापार भुक्तानी पहलको प्रगतिबारे जानकारी र उप–समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो ।
सो अवसरमा फिलिपिन्सको बान्सनेट नयाँ अध्यक्ष चयन भएको छ भने नेपालबाट फोनपे उपाध्यक्ष पदमा चयन भएको छ । फोरमको दोस्रो दिन फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठ, र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफल गरिएको थियो । फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले नेपालमा एपीएन फोरम आयोजना गर्नु डिजिटल भुक्तानी क्षेत्रको नेतृत्व क्षमतामा वृद्धिको संकेत भएको बताए ।