काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले व्यवसायिक ग्राहकका लागि नयाँ आधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा ‘र्यापिड’ नामक प्रणालीमार्फत व्यवसायिक ग्राहकको दैनिक कारोबारलाई सरल, छिटो र सुरक्षित बनाउने उद्देश्यले यो सेवा शुरू गरेको बताएको छ । बैंकका अनुसार र्यापिड सेवामा ग्राहकले आफ्नो कारोबार प्रणालीलाई सीधै बैंक प्रणालीसँग जोड्न सक्नेछन् र यसले कारोबार गर्दा बैंकको शाखा जानुपर्ने झन्झट हट्ने र सहज रूपमा रकम भुक्तानी गर्न सकिनेछ ।
ग्राहकले आफ्नो प्रणालीबाटै भुक्तानीका लागि हस्ताक्षर, रकमान्तर र कर्मचारीलाई तलब पठाउने जस्ता काम गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो सेवामा दुई तहको पासवर्ड सुरक्षा, एक पटकका लागि प्रयोग गर्न मिल्ने कोड, विशेष चिह्न पहिचानजस्ता प्रविधि अपनाइएको बताइएको छ । यसबाहेक डिजिटल हस्ताक्षर प्रणालीमार्फत भुक्तानी प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको बैंकले जानकारी दिएको छ ।