काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा २७ दशमलव १६ प्रतिशतले बढेको छ ।
१४ जीवन बीमा कम्पनीहरूले गत आवमा कुल रू. ८४ अर्ब ८९ करोड बराबरको यस्तो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिको भन्दा रू. १८ अर्ब १३ करोड बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल रू. ६६ अर्ब ७६ करोडभन्दा बढी यो कर्जा प्रवाह गरेका थिए ।
पछिल्लो समय बीमित (बीमा गर्ने व्यक्ति)को संख्या तथा बीमा शुल्क संकलन बढ्दै गएकाले बीमालेख धितो राखेर कर्जा लिने बीमितको संख्या पनि बढ्दै गएको छ ।
१४ कम्पनीमध्ये रकमका आधारमा सर्वाधिक बीमालेख धितोमा कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । यस कम्पनीले गत आवमा रू. ३० अर्ब ४५ करोडभन्दा बढी यो कर्जा प्रवाह गरेको हो । सर्वाधिक बीमालेख धितोमा कर्जा प्रवाह गर्ने कम्पनीको सूचीमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल छ । कम्पनीले रू. २१ अर्ब ७१ करोडभन्दा बढी यस्तो कर्जा प्रवाह गरेको छ ।
गत आवमा प्रतिशतका आधारमा सर्वाधिक बीमालेख धितोमा कर्जा वृद्धि गर्नेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । गत आवमा कम्पनीको बीमालेखको धितोमा कर्जा ४०८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष यस कम्पनीले रू. २० करोड ५६ लाख कर्जा प्रवाह गरेकोमा गत आवमा रू. १ अर्बभन्दा बढी बीमालेखको धितोमा राखेर कर्जा प्रवाह गरेको हो ।
बीमालेख धितोमा कर्जा लिनका लागि बीमितले कम्तीमा पनि तिन किस्ता प्रिमियम बुझाएको हुनुपर्छ । कर्जा लिँदा बीमितले बीमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बीमितले कम्पनीमा बुझाएको बीमा शुल्कको आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् ।
बीमा प्राधिकरणको प्रावधानअनुसार बीमा शुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकतम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । समर्पण मूल्य भनेको बीमितले नै पाउने रकम हो ।
बीमा कम्पनीहरूले प्रवाह गरेको बीमालेखको धितो कर्जा