काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज (मंसिर ३० गते) बिहान १०ः०६ बजेसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १० दशमलव ४० गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आईपीओमा कुमारी क्यापिटल विक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।