काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १६ विकास बैंकहरूमध्ये तीन कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
हालसम्म लाभांश वितरण घोषणा गर्ने विकास बैंकहरूमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक छन् । यी बैंकहरूले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सम्बन्धित शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । जसमध्ये कामना सेवाको लाभांश साधारण सभाबाट पारित भएर नेप्सेमा सूचीकृतसमेत भइसकेको छ ।
यस बैंकले ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको हो । बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पनि पठाइसकेको छ ।
मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट ९ दशमलव ५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले पुस १९ गते साधारण सभा बोलाएको छ ।
यस बैंकले लाभांश वितरण प्रयोजनार्थ पुस ३ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।