काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको निर्णय एक सातामै फेरिएको छ । चैत १८ गते सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले चुडामणि चापागाइँलाई सीईओमा नियुक्त गरेको समाचार बाहिरिएको छ ।
गत साता चैत ११ गते सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नारद कुमार लुइँटेललाई नेप्सेको सीईओ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका थिए । सोमवारको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सीईओमा चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिदैँ एक मन्त्रीले यस अघि बैठकमा लुइँटेललाई नेप्सेको सिइओमा नियुक्त गर्ने निर्णय भएपनि माइन्यूट गर्न छुट्दा पछिल्लो बैठकमा निर्णय उल्ट्याउन सहयोग मिलेको बताए ।
गत माघ २५ गतेदेखि नेप्सेमा सीईओ पद रिक्त रहेको छ । नेप्सेका कर्मचारीहरू यतिबेला विभिन्न सञ्चार माध्यमबाट बाहिरिएका समाचारमा उल्लेख भएका व्यक्तिभन्दा अर्थमन्त्रालयबाट नियुक्तिपत्र बुझेर आउने व्यक्तिलाई सीईओ मान्ने बताउँछन् । एक सातादेखि नेप्से सीईओ नियुक्तिको समाचार बाहिरिएपछि सीईओको पर्खाईमा रहेका कर्मचारीहरू फेरी अर्को सूचनाबाट अन्योल सिर्जना भएको बताउँछन् ।
नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको थियो । १० जनामध्येबाट पाँच जनालाई सर्टलिस्ट गरेपनि अन्तिम तीन जनाको नाम भने बाहिर आएको थिएन ।
पाँच जना छनोटपछि पनि अन्तिम तीन जनाको नाम छनौट गरी छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गर्नुपर्ने हुन्छ । तर पाँच जनाको नाम सार्वजनिक गरेको सरकारले तीन जनाको नाम सार्वजनिक नगरी हप्तैपिच्छे फरक फरक व्यक्ति नियुक्त गर्ने निर्णय गरिरहेको छ ।
अर्थमन्त्रालयका उच्च अधिकारीहरूले यसरी संवेदनशिल क्षेत्रको रुपमा रहेको नेप्से प्रमुखको नियुक्ति प्रक्रियालाई सरकारले गैरजिम्मेवारीपूर्ण तरिकाले बाहिर ल्याउन नहुने तर्क गर्दछन् । अर्थमन्त्रालयमा समेत हालसम्म नेप्से सीईओ नियुक्तिको प्रमाणित कागजात प्राप्त नभएको ती अधिकारीको भनाई छ । पाँच जनाको संक्षिप्त सूचीमा पहिलो नम्बरमा परेका चापागाइँको नियुक्तिको समाचारलाई समेत जतिसक्दो चाडै पुष्टि हुने गरी सरकारले निर्णय सार्वजनिक गर्नुपर्ने भनाई अर्थमन्त्रालयका उच्च अधिकारीहरूको समेत रहेको छ ।