काठमाडौं । २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाको शुरूङ खन्न टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गर्न लागिएको छ ।
तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले नेपालको जलविद्युत् आयोजनामा पहिलोपटक यस्तो मेशिन प्रयोग गर्न लागिएको बताए । हालसम्म परम्परागत रूपमै शुरूङ खन्ने गरिएको छ ।
तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले टीबीएम प्रयोगले शुरूङ खन्ने कार्यको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले यसअघि टीबीएम प्रयोगबाट भेरी बबई डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको शुरूङ खनेको कम्पनीलाई नै यसको जिम्मा दिइएको बताए ।
‘उक्त कम्पनीसँग हामीले समझदारी (एमओयू) गरिसकेका छौं । अबको करीब १० दिनभित्र सम्झौता गरेर मेशिन मोबिलाइजेशनको कामसमेत शुरू गर्ने तयारी भएको छ,’ उनले भने ।
सिँचाइ आयोजनाका लागि यसअघि भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना र सुनकोशी मरिन डाइभसर्नमा टीबीएम प्रयोग हुँदा तोकिएको अवधिभन्दा छिटो शुरूङ खन्ने काम सकिएको थियो ।
तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको यस परियोजनाको कुल लागत शुरूमा ५५ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको भए पनि अहिले ५१ अर्ब रुपैयाँमा निर्माण गर्न सकिने सम्भावना देखिएको समेत अध्यक्ष ढुंगानाले बताएका छन् ।
गत जेठ २४ मा यस परियोजनाले वित्तीय व्यवस्थापन गरेको थियो । त्यसबेला परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको थियो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बन्न लागेको यो परियोजना अर्धजलाशय प्रकृतिको हो । परियोजनाले हिउँदमा पनि ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्छ । त्यसले हिउँदको पिक आवरमा भइरहेको लोडशेडिङलाई कटौती गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
यस आयोजनाका लागि करीब २५ अर्ब रुपैयाँ लगानी जुटिसकेको र बैंकबाट लिइने २९ अर्ब रुपैयाँ ऋणको प्रक्रिया पनि शुरू भइसकेको ढुंगानाले जानकारी दिए । परियोजनामा १२ अर्ब स्वपूँजी जुटाइने, ८ अर्बको शेयर जारी गरिने र स्थानीयलाई पनि शेयर लगानी गर्न दिइने उनले बताए । यसबाहेक सुपरमादी हाइड्रोपावरले समेत ३ अर्ब १५ करोड रुपैयाँ यस परियोजनामा लगानी गर्नेछ ।
टीबीएम प्रयोग किन ?
शुरूङ खन्ने काममा ड्रिलिङ गरी विस्फोटक पदार्थ प्रयोग गरिँदै आएकोमा किन टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गर्ने भन्ने प्रश्नको जवाफमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की समय बचत हुने भएकाले यसको प्रयोग प्रभावकारी देखिएको बताउँछन् ।
कार्कीका अनुसार टीबीएम प्रयोग गर्दा परम्परागत प्रविधिको तुलनामा दोब्बर लागत लाग्छ । तर, काम चाँडो हुने भएकाले परियोजना चाँडो बनाउन मद्दत पुग्छ ।
निर्माण लागत बढी भए पनि चाँडै निर्माण सकिने भएकाले विद्युत् उत्पादन छिटो गरेर आम्दानी लिन सकिने उनको भनाइ छ । यसअघि राष्ट्रिय गौरवको सूचीमा राखिएको मेलम्ची खानेपानी आयोजनाको २६ किलोमीटर शुरूङ खन्न झन्डै ९ वर्ष लागेकोमा भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको १२ दशमलव २ किलोमीटर शुरूङ खन्न
२ वर्षभन्दा कम समय लागेको थियो ।
कम समयमै शुरूङ खन्न सकिने भए पनि नेपाली निजीक्षेत्रका जलविद्युत् आयोजनाहरूले अहिलेसम्म यसको प्रयोग गर्न सकेका छैनन् । यसको लागत महँगो पर्ने र कम क्षमताका आयोजनामा फिजिबल नहुने भएकाले पनि निजीक्षेत्रका परियोजनाहरूमा यसको प्रयोग हुन नसकेको इप्पान अध्यक्ष कार्की बताउँछन् ।
पछिल्लो समय निजीक्षेत्रले पनि १०० मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना निर्माण गर्न थालेको भन्दै उनले अबका दिनमा अधिकांश परियोजनामा टीबीएम प्रयोग हुने बताए ।
इप्पानकै सदस्य रहेका कतिपय परियोजनाका प्रवद्र्धकहरूले अहिले टीबीएम प्रयोगबारे चासो दिइरहेको उनले सुनाए । कतिपय लगानीकर्ताहरू अहिले चिनियाँ कम्पनीहरूसँग त्यसका लागि छलफलमा रहेको पनि उनले बताए ।