काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडको आईपीओ प्रत्याभूत गर्ने जिम्मेवारी नागरिक लगानीकोषले गर्ने भएको छ । कम्पनीको आईपीओ सार्वजनिक निष्कासनपश्चात् सम्पूर्ण कित्ता विक्री नभएमा त्यसलाई नागरिक लगानीकोषले सकार्ने भएको हो । यसका लागि कम्पनी र नागरिक लगानी कोषबीच अण्डरराइटिङ सम्झौता सम्पन्न भएको छ । सम्झौतामा भिजन इनर्जीको तर्फबाट अध्यक्ष टीएन आचार्य र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका हुन ।
यस कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । यसको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरिसकेको छ । यस कम्पनीले रामेछाप जिल्लामा ५७ दशमलव ५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनामा सरकारी स्वामित्वको संस्था हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको समेत लगानी रहेको छ ।