काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले २०८२ साल वैशाख ५ गते विशेष साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ ६ गते बाँडफाँट गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई सर्वसाधारणमा कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । कुल कित्ता आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि , १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि , ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि वितरण गरी बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गरेको कम्पनीले सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत २७ गतेसम्म कायम शेयरधनीहरू कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।