काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४२ हजार ४२१ रुपैयाँको आधारमा ४० प्रतिशत दरले हुन आउने ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ जार ९३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डले कम्पनीलाई जेठ ७ गते अनुमति प्रदान गरेको हो ।
कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । अब ४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी बोनस र हकप्रद शेयरमार्फत कायम गर्न लागेको हो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।