काठमाडौं । अघिल्ला कारोबार दिन निरन्तर बढेको नेप्से मंगलवार भने घटेको छ । यो दिन २ हजार ६९६ दशमलव ५० विन्दुमा पुगेको नेप्से परिसूचक अन्तिममा १६ दशमलव ९५ अंक अर्थात शून्य दशमलव ६२ प्रतिशत घटेर २ हजार ६७६ दशमलव १७ विन्दुमा बन्द भएको हो ।
यो दिन २०१ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने ४२ कम्पनीको धितोपत्र मूल्य बढेको छ । घटेको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव बाहिरिएसँगै कम्पनीको शेयर प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।
मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३४ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता २ हजार ५७६ रुपैयाँ ८० पैसा कायम भएको छ । यस दिन सर्वाधिक मूल्य गुराँस लघुवित्त वित्तीय संस्थाको घटेको छ । गुराँस लघुवित्तको शेयरमूल्य ५ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता १७३ रुपैयाँ ७४ पैसाले घटेर अन्तिम मूल्य २ हजार ९५३ रुपैयाँ ४१ पैसामा झरेको हो ।
अल्पकालिन लगानीकर्ताले छोटो समयमै नाफा बुक गर्दा बजार प्रभावित भएको देखिन्छ । मंगलवारको कारोबारमा लामो पुच्छर र छोटो टुप्पी भएको रातो मैनबत्ति बनेको छ । यसले भोलीको दिनमा पनि लगानीकर्ता खासै बजारप्रति उत्साहित हुने अवस्था नरहेको संकेत गर्दछ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको १ करोड ५५ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ७० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । यस दिन पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६४ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
मंगलवार व्यापारिक समूहको परिसूचक ३ दशमलव ८० प्रतिशत बढ्दा बाँकी समूहको परिसूचक भने घटेको छ । बैंकिङको शून्य दशमलव ७४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९५ प्रतिशत, वित्तको १ दशमलव ८४ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ७४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९९ प्रतिशत, लगानीको शून्य दशमलव ४४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५२ प्रतिशत, लघुवित्तको १ दशमलव १० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य २ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३८ प्रतिशत र अन्यको १ दशमलव ३९ प्रतिशत परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक घटेको हो ।
मंगलवार बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य कुल बजार पूँजीकरण २८ अर्ब १४ करोड ७१ लाख रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन ४४ खर्ब ७१ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ४३ अर्ब ८२ करोड ९७ लाख रुपैयाँभन्दा बढी कायम भएको हो ।