गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी शहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो ।
"पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उनले भने , "नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा शुरू भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।”
पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए । होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरू मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् ।
पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताए ।
महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । "अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने , "यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।”
पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् ।
यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए ।
"ट्रेकिङ रुटहरूमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उनले भने , "शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।” अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी शहर का रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ ।
पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ ।
त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ ।