काठमाडौं । विवादै विवादले ‘थला परेको’ व्यावसायिक घराना ‘ज्योति ग्रुप’ फुटेको छ । अध्यक्ष पद्म ज्योतिले आइतवार छुट्टै समूह घोषणा गरेपछि यो ग्रुप फुटेको हो । यससँगै दाजु पद्म ज्योति र भाइ डा. रूप ज्योति अलग भएका छन् ।
१०४ वर्षपहिले मणिहर्स ज्योतिले स्थापना गरेको उक्त व्यावसायिक घरानामा पछिल्लो समय पारिवारिक विवाद देखिएको थियो । ग्रुपका संस्थापक मणिहर्सका दुई छोरा (सञ्चालकद्वय पद्म ज्योति र डा. रूप ज्योति)बीचको सम्पत्ति (अंश) विवाद अड्डा, अदालतसम्म पुगेको थियो ।
पद्म ज्योतिले आइतवार नयाँ समूह र लोगो सार्वजनिक गरेका छन् । उक्त समूहको संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति छन् ।
ज्योति समूहले नेपालमा पहिलो स्टिल कारखाना हिमाल स्टिल, पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्ट, पहिलो अक्सिजन हिमाल अक्सिजन तथा हिमाल वायर्स लगायत सञ्चालन गरेको थियो । ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकल वितरक लगायतका व्यवसाय यही समूहले होल्डिङ गर्दै आएको थियो ।