काठमाडौं। नेपालको पुरानोमध्येको एक व्यावसायिक घराना ज्योति समूहका दाजुभाइ (पद्म र रूप ज्योति) बीचको पारिवारिक विवाद फेरि सतहमा आएको छ ।
४२ वर्षअघि अंशबण्डा भई दाजुभाइको अंश स्पष्ट भएको भनिए पनि यो समूहका दाजुभाइबीचको सम्पत्ति विवाद बेलाबेला सतहमा आउने गरेको छ । दाजु पद्म ज्योति समूहले आफ्नो स्वामित्वमा रहेको भवनको केही भागमा रहेको भाइ रूप ज्योतिको नेतृत्वमा रहेको ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालिले ओगटेको र पटकपटक उक्त ठाउँ खाली गराउनभन्दा पनि बेवास्ता गर्दै आएको भन्दै आइतवार सार्वजनिक वक्तव्य जारी गरेको छ । दाजु पद्म ज्योतिले घर/तथा फ्ल्याट प्रयोग गरेबापतको भाडा नदिएको आरोप लगाएका छन् ।
ज्योति समूह (पद्म ज्योति)ले ज्योति भवनको घर/फ्ल्याट आफैलाई आवश्यक परेको भन्दै २०७६ देखि पटकपटक बहाल रकम बुझाई खाली गरिदिन लिखित तथा मौखिक रूपमा भन्दै आएको तर नमानेपछि न्यायिक निरूपण खोजेको उल्लेख गरेको छ ।
काठमाडौं महानगरपालिकाको न्यायिक समिति, काठमाडौं जिल्ला अदालत, उच्च अदालत, पाटन र सर्वोच्च अदालतले समेत आफ्नो समूहको पक्षमा निर्णय दिइसकेको र अदालतको अन्तिम आदेश कार्यान्वयन गर्न खोज्दा विभिन्न अनलाइन मिडिया तथा युट्युब च्यानलहरूमार्फत बिरामीप्रति असंवेदनशील भएको भन्ने झूटा आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामी भर्ना लिने र उनै बिरामीको आडमा अरूको घर/फ्ल्याट अनन्तकालसम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको पद्म ज्योति समूहको आरोप छ । भाइ रूप ज्योतिले पनि उक्त घरमा दाजुको कानूनी अधिकार रहेको स्वीकार गरे ।
तर, अस्पतालको स्वामित्व सम्पूर्ण ज्योति परिवारको भएकाले दाजुको समूहले अस्पतालको केही भाग दाजुको स्वामित्वमा रहेको भवनमा रहँदा आपत्ति गर्नुपर्ने कुनै कारण नभएको आर्थिक अभियानलाई बताए । ‘त्यहाँ संवेदनशील उपकरणहरू छन् त्यसलाई सार्न समय लाग्छ । नत्र ती सेवा बन्द गर्नुपर्छ,’ उनले भने ।
उनले अस्पतालमा पनि दाजुको अप्रत्यक्ष शेयर रहेको र आफ्नै अस्पताल हटाऊ भन्नुको स्पष्ट चित्तबुझ्दो जवाफ नआएको बताए । ‘यो चाहिँ मप्रतिको प्रतिशोध हो,’ उनले भने । दाजुको समूहले १ करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबर बहाल नतिरेको आरोप लगाएकोमा भाइले उक्त आरोप झूटो भएको दाबी गरेका छन् ।
दाजुको खातामा एकमुष्ट ४ करोड ३६ लाख रुपैयाँ जम्मा गरिदिएको उनको दाबी छ । ‘अस्पतालको खाताबाट उनको नाममा रकम जम्मा भएको छ,’ रूप ज्योतिले भने । उनले दाजुको खातामा जम्मा गरेको रकमले अर्काे ९/१० वर्षसम्मको बहाल तिर्न पुग्ने पनि बताए । ‘अग्रिम दिनका लागि हामीलाई कुनै संकोच भएन । हामीले महीनाको १ लाख ८० हजार रुपैयाँ तिर्ने हो,’ भाइले भने । २०३९ सालमै अंशबण्डा भई पद्म ज्योतिको काठमाडौं महानगरपालिकाको वडा नं. २७ कित्ता नम्बर २३१० जग्गामा बनेको घरको पहिलो तल्लाको ५ हजार २२५ दशमलव ६८ वर्गफुट र दोस्रो तल्लाको ६ हजार ९३४ वर्गफुट गरी दुईतला घर/फ्ल्याट रूप ज्योतिको समूहले प्रयोग गर्दै आएको छ । उक्त समूहले पद्मको नाममा रहेको जग्गा २०७१ सालदेखि प्रयोग गर्दै आएको हो । उक्त सम्पत्ति प्रयोग गरेबापत मासिक भाडा १ लाख ८० हजार रुपैयाँ दिने भनी मौखिक सहमति भएको थियो ।
सहमतिअनुसार जम्मा १२ हजार १५९ दशमलव ६८ वर्गफुटको भाडा नदिएको पद्म समूहले उल्लेख गरेको छ । पटकपटक बहाल रकम बुझाई घर फ्ल्याट खाली गर्न भने पनि खाली गर्न नमानेको भन्दै पद्म समूहले भाडा रकम १ करोड ५४ लाख ३२ हजार रुपैयाँ असुली गराई घर/फ्ल्याट खाली गराउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ र अन्य प्रचलित नेपाल कानूनबमोजिम काठमाडौं माहानगरपालिकाको न्यायिक समितिमा २०७६ सालमा निवेदन दिएको थियो । त्यसअनुसार महानगरपालिकाको न्यायिक समितिले २०७८ असोज २४ गते पद्म ज्योतिकै पक्षमा फैसला गरेको विज्ञप्तिमा छ ।
महानगरपालिकाको उक्त फैसलाविरुद्ध ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालिले काठमाडौं जिल्ला अदालतमा पुनरावेदनसमेत गरेको थियो । जिल्ला अदालतबाट २०७९ फागुन २९ गते काठमाडौं महानगरपालिका न्यायिक समितिले २०७८ असोज २४ गतेको फैसला सदर हुने फैसला गरेको थियो ।
काठमाडौं जिल्ला अदालतको उक्त फैसलाअनुसार विपक्षी (रूप ज्योति)बाट पाउनुपर्ने बहाल रकम १ करोड ९७ लाख ५२ हजार रुपैयाँ छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालिलाई २०८० फागुन २४ मा पत्राचार गरेकोमा उक्त १० (दश) दिने म्यादको पत्र रूप ज्योति आफैले सोही मितिमै बुझेका थिए ।’ उक्त पत्रको विरुद्धमा ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटलका तर्फबाट पुन: अन्तरिम आदेशसहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी उच्च अदालत पाटनमा निवेदन परेको थियो । त्यसपछि यो विषय सर्वोच्च अदालतबाट समेत बदर भई पछि मुद्दाको पूर्ण सुनुवाइ हुँदा २०८१ असार १९ गते उच्च अदालत पाटनबाट निषेधाज्ञाको मुद्दा खारेज गर्ने गरी फैसला भएको छ । महानगरपालिकाले झन्डै २ महीना अगाडि उक्त घर/फ्ल्याट खाली गराउने क्रममा स्थलगत निरीक्षण गरी दुवै पक्षलाई राखी छलफल गराएको थियो । त्यसबेला घर/फ्ल्याट खाली गराउन उचित समयसीमासहितको कार्ययोजना माग गरिएकोमा अव्यावहारिक किसिमले २ (दुई) वर्ष समय माग रूप ज्योति पक्षले गरेको दाजुको समूहले बताएको छ ।
महानगरपालिकाले २०८१ असोज १३ गते कात्तिक ६ गतेसम्म खाली गर्न र नगरेमा महानगरपालिकाको तर्फबाट नगरप्रहरी गई उक्त घर/फ्ल्याट खाली गराउने भनिएको समेत विज्ञप्तिमा उल्लेख छ । ‘हामीले अस्पताल बन्द गराउन खोजेका होइनौं, सम्पूर्ण अस्पतालको जम्मा १०/१५ प्रतिशत भाग मात्रै पद्म ज्योतिको घर/फ्ल्याटमा रहेको छ, बाँकी ८५/९० प्रतिशत अस्पताल रूप ज्योतिकै घरमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।