काठमाडौं । पछिल्लो समय उद्यमशीलतामा महिलाको प्रवेश र उनीहरूको पहुँच निकै अनुकरणीय रहेको सरोकारवालाले बताएका छन् । सरकारले महिला उद्यमशीलता इकोसिस्टम बनाउन लागिपरेको र त्यहीअनुसार महिला उद्यमीको प्रवेश र भूमिका पनि बदलिँदो अवस्थामा हुनु सकारात्मक भएको उनीहरूले बताए ।
न्यू बिजनेश एज लिमिटेडले बुधवार काठमाडौंमा आयोजना गरेको ५औं संस्करणको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५ कार्यक्रममा आयोजना गरिएको ‘व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने’ विषयमा प्यानल छलफलमा वक्ताले उक्त धारणा राखेका हुन् । उक्त सामूहिक छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले महिलाका लागि अवसरका साथै क्षमता पनि बढाउन जरुरी रहेको बताए । केयर इकोनोमीमा महिलाको धेरै भूमिका रहेको भन्दै उनले त्यसलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न आवश्यक भएको बताए ।
‘हिजो शिक्षामा महिलाको पहुँच थिएन,’ उनले भने, ‘अहिले शिक्षाको अवस्थाले राम्रो संकेत गरेको छ । अब नेपाली बजारमा मात्रै नभएर अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन जरुरी छ ।’
उक्त छलफलमा श्रेष्ठले जनसंख्यामा महिलाको अंश बढी भएकाले उनीहरूको योगदानविना दिगो अर्थतन्त्र नहुने बताए । ‘महिलाहरू उद्यममा जसरी आएका छन् त्यो उदाहरणीय छ,’ उनले भने, ‘तर, धेरै महिला अझै पनि बजेट, नीति तथा कार्यक्रमबारे थाहा नै पाउँदैनन् । एक तिहाइ महिला अझै निरक्षर छन् । उनीहरूलाई तालिम दिनुपर्छ ।’
अर्का वक्ता कटन मिल नेपालका सहसंस्थापक प्रशन्ना बस्नेतले महिलाको समय धेरैतिर वितरण हुने गरेको बताइन् । बच्चादेखि सामाजिक संस्कारसम्ममा महिलाले भ्याउनुपर्ने र यही समयमा करिअर वृद्धि पनि गर्नुपर्ने भएकाले यो निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
यस्तै उनले उद्यममा ब्रान्ड भनेको ग्राहकप्रतिको प्रतिज्ञा भएको बताइन् । ब्रान्डलाई व्यवसाययोग्य बनाउन नवीनता हुनुपर्नेमा उनले जोड दिइन् । अब उद्यममात्रै गर्छु भनेर नहुने तर्क गर्दै उनले थपिन्, ‘कारखाना नजिकका महिलालाई तालिम दिनुका साथै दिगोपन, वातावरण र समुदायलाई केन्द्रमा राख्नुपर्छ ।’
उक्त छलफलमा कोड रसका प्रबन्ध निर्देशक आस्था शर्माले कार्यस्थल तथा कार्यालयमा प्रवेश गर्दाका अनुभव सुनाइन् । उनले भनिन् , ‘एउटा कार्यालयमा जाँदा शुरूमा चिया बनाउन भने । अर्कोमा जाँदा शौचालय नभएकाले महीनावारि हुँदा समस्या झेल्नु पर्यो । यी सोचाइका कुरा भएकाले हामी कार्यालय महिलामैत्री बनाउन काम गरिरहेका छौं । सोही किसिमले तालिम पनि दिने गरेका छौं ।’कार्यस्थलमा जाँदा हुने व्यवहारका विषयमा कसरी काम गर्ने भन्ने विषयमा पनि छलफल गरिनुपर्नेमा उनले जोड दिइन् । इन्जिनीयरिङ पढ्न तथा व्यवसायमा आउन मेन्टरशिप अति जरुरी हुने तर्क गरिन् ।
यस्तै महिलालाई टेक क्षेत्रमा ल्याउन पहिला अवसर देखाउनुपर्ने र सोही किसिमको प्लेटफर्म बनाइदिनुपर्नेमा उनले जोड दिइन् । उक्त सामूहिक छलफलका सहजकर्ता कस्मिक इलेक्ट्रिकल लिमिटेडका संस्थापक महेश महतोले महिलाको नेतृत्व, स्वामित्व र सशक्तीकरणको विषयलाई जोड दिए । उनले उद्यमशीलता नाम र मुनाफा मात्र नभई यसले समुदायलाई पनि समावेश गर्न सक्नुपर्ने बताए । महतोले नेपालको औपचारिक अर्थतन्त्रमा महिलाको योगदानलाई के कसरी सम्बोधन गर्न सकिन्छ भनेर वक्तालाई प्रश्न गरेका थिए । उनले प्रविधि क्षेत्रमा महिलामैत्री कार्यालय बनाउन र कार्यस्थलमा हुने व्यवहार के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराए । साथै महिलालाई प्रविधिमा ल्याउन, व्यवसायलाई मेन्टरसिप के कति जरुरी हुन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको थियो । उक्त छलफलमा सहभागीले जागीरको अवधिमा महिला आमा हुँदा उनीहरूको करिअरमै प्रभाव पारेकाले सरकारी तथा निजीक्षेत्रका कार्यालयमा शिशु स्याहार केन्द्र बनाउनुपर्नेमा जोड दिए । यस्तै सहभागीले बजेट तथा नीति कार्यक्रममा तीन तहले महिला लक्षित योजना ल्याएका भए पनि बजेट सक्नुपर्ने भएमा मात्रै महिलालाई बजेट दिने गरेको बताए ।