काठमाडौं । कात्तिक मसान्तसम्ममा पाँच वित्त कम्पनी घाटामा रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स घाटामा रहेका हुन् । तीमध्ये गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले सबैभन्दा बढी रू. १४ करोड ५७ लाख घाटा व्यहोरेको छ ।
कात्तिक मसान्तसम्ममा सर्वाधिक घाटा व्यहोर्ने कम्पनीको सूचीमा दोस्रोमा रिलायन्स फाइनान्स छ । यो कम्पनी सो अवधिसम्म रू. १० करोड ५५ लाख घाटामा छ ।
तर, धितोपत्र दोस्रो बजारमा यी कम्पनीको शेयर मूल्य ६ सयभन्दा बढी छ । पोखरा फाइनान्सको शेयर मूल्य पछिल्लो कारोबार दिन (गत बिहीवार) प्रतिकित्ता रू. ६५७ मा बन्द भएको छ । त्यस्तै, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयर मूल्य पछिल्लो कारोबार दिन रू. ६१७ कायम भएको छ ।
अर्बौं नाफा कमाएको वाणिज्य बैंकको शेयर मूल्य भने प्रतिकित्ता ३ सयको हाराहारीमा छ ।
यस्तोमा प्रश्न उठ्छ– घाटामा रहेका वित्त कम्पनीको शेयरमा किन आकर्षण छ ? जानकार भन्छन्– वित्त कम्पनीहरूको शेयरको माग बढी हुनु । यी कम्पनीको शेयर संख्या न्यून हुँदा आपूर्ति कम हुने भएकाले माग बढी भएको एक ब्रोकरले बताए ।
१० कम्पनी नाफामा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ कम्पनीमध्ये १० कम्पनी नाफामा छन् । तीमध्ये प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा बढी नाफा कमाएको छ । यस कम्पनीले कात्तिक मसान्तसम्ममा रू. १५ करोड ८८ लाख नाफा कमाएको हो । गत आवको कात्तिक मसान्तसम्ममा यस कम्पनी रू. १० करोड २० लाख घाटामा थियो ।
कात्तिक मसान्तसम्ममा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा मञ्जुश्री फाइनान्स छ । यस कम्पनीले चालू आवको कात्तिक मसान्तसम्ममा रू. १५ करोड ३३ लाख नाफा कमाएको छ । यो अवधिमा सबैभन्दा कम नाफा कमाउने वित्त कम्पनीमा नेपाल फाइनान्स छ । यस कम्पनीले रू. ६८ लाख नाफा कमाएको छ ।
कम्पनीको नाम | नाफा/नोक्सान रू. दश लाखमा | पछिल्लो शेयर मूल्य रू. | |
२०८१ कात्तिक मसान्त | २०८० कात्तिक मसान्त | ||
प्रोग्रेशिभ फाइनान्स | 158.81 | -102.06 | 676 |
मञ्जुश्री फाइनान्स | 153.39 | 113.92 | 707 |
आइसिएफसी फाइनान्स | 84.58 | 19.27 | 717.9 |
जानकी फाइनान्स | 75.48 | 7.6 | 885.9 |
गुडवील फाइनान्स | 56.32 | -39.77 | 842 |
सेन्ट्रल फाइनान्स | 50.88 | -18.39 | 641 |
गोर्खाज फाइनान्स | 36.13 | 52.02 | 720 |
मल्टीपर्पस फाइनान्स | 24.24 | 8.72 | 740 |
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स | 8.89 | 3.01 | 629.8 |
नेपाल फाइनान्स | 6.82 | -22.44 | 1087 |
वेष्ट फाइनान्स | -23.32 | -21.94 | 776 |
समृद्धि फाइनान्स | -26.37 | -93.97 | 791 |
पोखरा फाइनान्स | -64.27 | -51.82 | 657 |
रिलायन्स फाइनान्स | -105.56 | 46.81 | 627 |
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स | -145.73 | -53.1 | 617 |
स्रोत : नेपाल राष्ट्र बैंक र नेप्से