काठमाडौं । आइतवार धितोपत्र दोस्रो बजार २ हजार ७०० विन्दु तल झरेर बन्द भएको छ । २ हजार ७४९ दशमलव ६८ विन्दुदेखि खुला भएको आइतवारको बजार २ हजार ७८१ दशमलव ७५ विन्दुसम्म पुगेको थियो भने २ हजार ६८६ दशमलव ६१ विन्दुसम्म झरेको थियो ।
निकै उतारचढावबीच आइतवारको बजार अन्तिममा ५३ दशमलव ६३ अंकले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन गत बिहीवार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँभन्दा बढीको २ करोड ८३ लाख ४६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँभन्दा बढीको २ करोड ६२ लाख ४६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
पछिल्लो समय बजार घटिरहेको अवस्थामा ब्रोकर भने विक्रेता हाबी भएकाले केही दिन करेक्सन देखिएको अनुमान लगाउँछन् । चाडपर्व नजिकिएसँगै कतिपय लगानीकर्ता खर्च जोहो गर्नतर्फ पनि सक्रिय रहेकाले बजारमा करेक्सन देखिएको ब्रोकरहरूको बुझाइ छ ।
संस्थागत लगानीकर्ता प्रवेश गरिरहेको बजारमा केही सकारात्मक प्रभाव पर्ने आशा गरिएपछि छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटीका कारण बजारले सोचे अनुसारको गति लिन नसकेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यतिबेला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।
आइतवार कुल कारोबार रकममा सर्वाधिक हिस्सा गुडवील फाइनान्सले ओगटेको छ । यस कम्पनीको ५२ करोड ३१ लाख १० हजार रुपैयाँभन्दा बढीको ४ लाख १९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
घटेको बजारमा सर्वाधिक रकमको कारोबार भएको गुडवील फाइनान्सको शेयरमूल्य भने प्रतिकित्ता ५२ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार २३० रुपैयाँ कायम भएको छ । आइतवार २०९ कम्पनीको धितोपत्र मूल्य घट्दा ३१ कम्पनीको धितोपत्र मूल्य बढेको जानकारी नेप्सेले दिएको छ । नेप्सेका अनुसार यो दिन ४ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ ।
बजार घट्दा सुपरमाई हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । प्रतिकित्ता ९६ रुपैयाँले बढेर सुपरमाई हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता १ हजार ५६ रुपैयाँ कायम भएको छ । त्यस्तै हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशत बढेको छ । प्रतिकित्ता ३८ रुपैयाँले बढेर हिमालयन पावर पार्टनरको शेयरमूल्य प्रतिकित्ता ४२३ रुपैयाँ कायम भएको छ ।
आइतवार म्युचुअल फण्डबाहेक अन्य समूहको परिसूचक घटेको छ । म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ८० प्रतिशत बढेको छ । यस दिन बैंकिङको २ दशमलव ३४ प्रतिशत, विकास बैंकको १ दशमलव ८५ प्रतिशत, वित्तको ३ दशमलव ४४ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ९८ प्रतिशत, जलविद्युतको २ दशमलव ४० प्रतिशत, लगानीको १ दशमलव ३३ प्रतिशत, जीवन बीमाको १ दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८० प्रतिशत, लघुवित्तको १ दशमलव ८८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २३ प्रतिशत, अन्यको १ दशमलव शून्य ४ प्रतिशत र व्यापारिकको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।
आइतवारको कारोबारमा वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कुल बजार पूँजीकरण ४२ खर्ब ८१ करोड ६९ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कुल बजार पूँजीकरण ८५ अर्ब १८ करोड ९० लाख रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ थियो ।