काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (आज) नेप्से परिसूचक २ दशमलव १६ प्रतिशत घटेको छ । यससँगै नेप्से २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ ।
नेप्से २६ सय विन्दुमुनि झरेको करीब दुई महीनापछि हो । गत साउन १० गते २ हजार ५६८ दशमलव १३ विन्दुमा रहेको नेप्से आज २६ सय विन्दुमुनि झरेको हो ।
करीब १ महिनायता बजार घट्दोक्रममा छ । यसअघि ३ हजारसम्म पुगेको नेप्से छोटो समयमै २५ सयको लाइनमा आएको हो । सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ ।
बैंकहरूको ब्याजदर घटिरहँदा पनि लगानीकर्ताको मनोबल सकारात्मक हुन सकेको छैन । बैंकहरूले असोजका लागि तोकेको ब्याजदर आजै सार्वजनिक गरेका छन्, जसअनुसार ब्याजदर थप घटेको छ ।
शेयर मूल्य सस्तो हुँदै जाँदा क्रेताहरू सक्रिय हुने र पुनः कारोबार रकम पनि बढ्ने जानकारहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ८२ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९७ प्रतिशत घटेको छ ।
३१२ धितोपत्रको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ९२ हजार ८१५ पटकमा रू. ७ अर्ब ३६ करोडभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५०० पुगेको छ । त्यस्तै हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ५१४ दशमलव २० पुगेको हो ।
आज सबैभन्दा बढी गुडवील फाइनान्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४५ मा झरेको छ । त्यस्तै थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशत घटेर रू. ८४८ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३१ करोड ११ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९५१ कायम भएको छ । त्यस्तै, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रू. २७ करोेड ४२ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत सूचक सबै घटेका छन् । सबैभन्दा बढी वित्त समूहको सूच्क ५ दशमलव ६६ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको सूच्क २ दशमलव ७९ प्रतिशत, व्यापार समूहको सूचक २ दशमलव ७६ प्रतिशत र विकास बैंक समूहको सूचक २ दशमलव ७२ प्रतिशत घटेको छ ।