बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई कर्जा नतिर्ने, कर्जा दुरुपयोग गर्ने ग्राहक, ऋणी तथा बैंकिङ अपराधमा संलग्न व्यक्तिहरूलाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनबमोजिम सूचीकृत गरी जारी गरिएको सूची कालोसूची हो । कालोसूचीमा सूचीकृत गर्नका निमित्त बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा अनिवार्य रूपमा सूचना उपलब्ध गराउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल राष्ट्र बैंक कर्जा सूचना विनियमावली, २०५९ ले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कालोसूचीमा समावेश गर्ने तथा त्यस्तो सूचीबाट हटाउने अधिकार कर्जा सूचनाको रहने भनी निर्दिष्ट गरेको छ । कालोसूचीको विषयमा नियामक तहमा कर्जा सूचना केन्द्र रहेको छ । साथै, बैंक तथा वित्तीय संस्थाबाट सूचना प्राप्त गरेपछि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कालोसूचीबाट हटाउने अधिकारसमेत कर्जा सूचना केन्द्रलाई प्रत्यायोजित गरिएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशिका २०८० बमोजिम इजाजतपत्रप्राप्त संस्थाले दश लाख रूपैयाँ वा सोभन्दा बढीको कर्जा रकम कालोसूचीसम्बन्धी व्यवस्था अन्तर्गत कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने गरी निर्देशन गरेको छ । कालोसूचीमा समावेश गर्न सम्बन्धित बैंकबाट सिफारिस प्राप्त भएपछि सो नामावलीलाई कर्जा सूचना केन्द्रले नामनामेसी (खाता खोल्दा लिएको पहिचान खुल्ने आधिकारिक कागजात) यकीन गरी पाँच दिनभित्र कालोसूचीमा राख्नु पर्ने व्यवस्था छ । कालोसूचीबाट नाम हटाउने सम्बन्धी कारबाही विद्यमान नीतिगत तथा प्रक्रियागत व्यवस्था बमोजिम हुने भनेकोमा कर्जा सूचना केन्द्रले नियामक रूपमा कालोसूचीको अभ्यासलाई नियमनसमेत गर्दै आएको छ ।
कोभिड–१९ जस्तो विषम परिस्थितिपछि आर्थिक क्षेत्रमा केही संकट देखिएपछि बजारको आवश्यकताबमोजिम कालोसूचीमा उल्लेखनीय वृद्धि हुँदै गएकोमा राज्यको गम्भीर ध्यानाकर्षण भएको पाइन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले केही लचकतासमेत अवलम्बन गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०८० ले कुनै पनि कर्जावालालाई कालोसूचीमा समावेश गर्नुपूर्व कर्जावालाले धितोबापत उपलब्ध गराएको जायजेथा लिलाम गर्न आवश्यक मापदण्ड तोकेको थियो । यसरी कर्जावालाले लिएको कर्जा कर्जावालाबाट असुलउपर हुन नसकेको खण्डमा जमानीमा रहेका व्यक्तिहरूलाई सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र उक्त कर्जा चुक्ता नगरेको खण्डमा कालोसूची गर्ने पूर्ववत् व्यवस्थालाई संशोधन गर्दै सो बमोजिमका जमानीकर्ताहरूलाई सूचना प्राप्त भएको मितिले ९० दिनभित्र कर्जा चुक्त गर्नका निमित्त समय सीमा थप गरी केही सहजीकरणसमेत गरेको छ । बैंकले कर्जा चुक्ता नभएमा प्रथमत: कर्जावाल र जमानीकर्ता दुवैलाई कालोसूचीमा राख्ने व्यवस्था र सोही अनुरूपको अभ्यास गर्दै आएको छ । हाल सो व्यवस्था परिमार्जन गरी धितोको रूपमा उपलब्ध गराइएको जायजेथाबाट असुलउपर गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिएको छ ।
नेपाल जस्तो संवेदनशील आर्थिक प्रणालीमा सूचना प्रविधिको प्रयोगपश्चात् कतिपय सेवासुविधा प्रभावकारी हुँदै गए पनि कालोसूचीको विद्यमान व्यवस्थाका कतिपय आयामहरू चुनौतीपूर्ण छन् ।
यस पूर्व कालोसूचीमा समावेश भएका व्यक्तिले कुनै पनि प्रयोजनका निमित्त बैंक खाता खोल्न नमिल्ने व्यवस्था रहेकोमा एकीकृत निर्देशिका २०८० जारी भएपश्चात् कालोसूचीमा समावेश भएका त्यस्ता व्यक्तिले पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरणलगायतका सेवासुविधामा सीमित रही उक्त प्रयोजनार्थ बैंकमा खाता खोली प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । कर्जा तथा कर्जावापत उपलब्ध गराएको धितोको दुरुपयोग गरेको खण्डमा समेत कालोसूचीमा समावेश गर्ने अभ्यास बढ्दै गएको छ । बैंक खातामा पर्याप्त मौज्दात रकम उपलब्ध नभएता पनि चेक जारी गरी बेपत्ता हुने व्यक्तिहरूलाई समेत कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्दै आएको छ । आजको मितिसम्म यसरी कालोसूचीमा समावेश हुनेको संख्या करीब ७५ हजार जति रहेको छ भने प्रत्येक दिन ठूलो संख्यामा वृद्धिसमेत हुँदै गएको पाइन्छ ।
व्यापारव्यवसाय तथा उपभोगसम्बन्धी हकलाई नेपालको संविधानले मौलिक हकको रूपमा स्थापित गरेको अवस्थामा कुनै पनि अव्यावहारिक नीति तथा निर्देशनले त्यस्ता हकहरू कुण्ठित पार्न सक्ने क्षमता राख्दैन । कुनै पनि कर्जावाल वा व्यक्तिलाई उपयुक्त आधार, कारणविना निर्देशिकाले निर्दिष्ट गरेको मापदण्डबाहिर गएर कुनै पनि बैंक तथा वित्तीय क्षेत्रले कालोसूचीमा समावेश गर्न निवेदन गर्न पाउँदैनन् । यसो गरेर कर्जा सूचना केन्द्रबाट कालोसूचीमा समावेश भएको खण्डमा त्यस्ता कर्जावाल तथा व्यक्तिले न्यायका निमित्त कानूनी मार्ग अवलम्बन गर्न सक्छन् । नेपालको संविधानले प्रदत्त गरेका मौलिक हक कुण्ठित हुन गएको अवस्थामा सम्मानित अदालतहरूमा न्यायिक उपचारार्थ निवेदनसहित उपस्थित हुने क्रम बढ्दो छ । सम्मानित अदालतहरूले सम्बन्धित क्षेत्राधिकारको रोहमा निवेदन उपर अध्ययन गरी आवश्यक कामकारबाहीसमेत गर्दै आएका छन् । कर्जा सूचना प्रवाहको क्षेत्रमा नीति निर्देशनमा रहेका अस्पष्टता तथा व्यावहारिक अभ्यासमा रहेका बेथितिहरूको पहिचान गरी उत्पन्न कानूनी समस्यालाई निरूपण समेत गर्दै आएको छ । बैंक तथा वित्तीय क्षेत्रको सूचनामा प्रत्यक्ष रूपमा कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्ने हुँदा कथंकदाचित् कानूनी तथा प्राविधिक त्रुटिले समेत कालोसूचीमा समावेश हुन गएमा बैंक तथा वित्तीय क्षेत्रको मनोमानी बढ्न गई धेरै बेथितिहरू समेत बढ्ने आशंका रहन्छ । सुविधाका सन्तुलनका हिसाबले तथा प्राकृतिक न्यायको सिद्धान्तलाई अवलम्बन गरी अन्य पक्षको कुरा नै नसुनी एकपक्षीय रूपमा मात्र कारबाही गर्न न्यायिक हुन नसक्ने सन्दर्भमा राज्यको अभिन्न अंगको रूपमा रहेको न्यायपालिकाले सुविधाको सन्तुलनको सिद्धान्त र वैकल्पिक उपचारको अभावमा निवेदकको निवेदन उपर कानूनी प्रक्रियागत मार्गको अवलम्बन गरी दायित्व र अधिकारको सन्तुलनका निमित्त न्याय सम्पादन गर्दै आएको छ ।
कालोसूचीमा पर्नेप्रतिको अविश्वास बढ्ने र सम्बन्धित क्षेत्रको व्यापारिक/व्यावसायिक गतिविधिमा निश्चित अवस्था वा अवधिसम्म प्रतिबन्ध लाग्ने हुँदा व्यक्ति, कम्पनी वा संस्थाले कालोसूचीबाट सधैं जोगिएर स्वच्छ र निष्पक्ष काम र व्यवहार गर्नु उनीहरूकै हितमा रहन्छ ।
सम्मानित सर्वोच्च अदालतले विभिन्न मुद्दा तथा रिट निवेदनको सन्दर्भमा कालोसूचीसम्बन्धी आधारभूत सिद्धान्त तथा विद्यमान कानूनी व्यवस्था र अभ्यासमा विस्तृत रूपमा नजिरसमेत प्रतिपादन हुने गरी फैसला गरेको छ । सम्मानित सर्वोच्च अदालतले कालोसूची भनेको कानूनद्वारा वर्जित खराब व्यवहार र आचरण गर्ने व्यक्ति, कम्पनी वा संस्थाको सूची हो जसबाट उनीहरूलाई त्यस्तै खराब व्यवहार दोहोर्याउन नसक्ने बनाउन कालोसूचीमा राखी दण्डित गरिन्छ भनी बताएको छ । । कालोसूचीमा समावेश गरिएपछि आफ्नो व्यापार, व्यवसाय वा व्यवहार सञ्चालन गर्न, विदेश यात्रा गर्न, खरिदविक्री गर्न, बैंकबाट कर्जा लिन वा अन्य सामाजिक, राजनीतिक गतिविधिमा सहभागिता जनाउनसमेत व्यक्ति, कम्पनी वा संस्थालाई नकारात्मक असर पार्दछ । कालोसूचीमा समावेश भएकोमा व्यावसायिक क्षमतामा ह्रास आउनाले विश्वसनीयता र सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने पर्छ र उनीहरूको व्यापार, व्यवसाय बिग्रन गई आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । कालोसूचीमा पर्नेप्रति अविश्वास बढ्ने र सम्बन्धित क्षेत्रको व्यापारिक/व्यावसायिक गतिविधिमा निश्चित अवस्था वा अवधिसम्म प्रतिबन्ध लाग्ने हुँदा व्यावसायिक, सामाजिक वा राजनीतिक क्षेत्रमा सक्रिय रहेको व्यक्ति, कम्पनी वा संस्थाले कालोसूचीबाट सधैं जोगिएर स्वच्छ र निष्पक्ष काम तथा व्यवहार गर्नु उनीहरूकै हितमा रहन्छ । त्यसैले स्पष्ट रूपमा कानूनी सिद्धान्त नै स्थापना गरेकाले कालोसूचीप्रति न्यायिक दृष्टिकोणको अवधारणा स्पष्ट छ । साथै, कालोसूचीमा राख्नु अगाडि सोको आधार, कारण र कानूनी व्यवस्थासहित सुनुवाइको मौका दिई प्राकृतिक न्यायको सिद्धान्तसमेतको परिपालना भएको हुनुपर्ने भनी नेपालको सर्वोच्च न्यायिक निकायले न्यायिक प्रयोजनका निमित्त मार्गदर्शन गरेको छ । तसर्थ यस सन्दर्भमा कर्जा सेवा प्रवाहको सेवासुविधाको स्वस्थ अभ्यास र कर्जा दुरुपयोगको रोकथामका निमित्त केही चुनौती विद्यमान रहेता पनि नेपालमा तर्जुमा गरिएका ऐन, कानून तथा नीति निर्देशनको विकासोन्मुख समय क्रमलाई हेर्दा बैंकिङ तथा वित्तीय कारोबार थप विश्वासिलो हुँदै गएको छ । कर्जावालहरूमा समेत कालोसूचीको व्यवस्थाले कर्जादाताप्रतिको दायित्वमा थप जिम्मेवार बनाउँदै राज्यको आर्थिक विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाल जस्तो संवेदनशील आर्थिक प्रणालीमा सूचना प्रविधिको प्रयोगपश्चात् कतिपय सेवासुविधा प्रभावकारी हुँदै गए पनि कालोसूचीको विद्यमान व्यवस्थाका कतिपय आयामहरू चुनौतीपूर्ण छन् । बैंक तथा वित्तीय क्षेत्रमा कालोसूचीको कार्यविधि केही ढिलासुस्ती हुँदा कानूनी कारबाही तथा न्याय सम्पादनमा केही ढिलासुस्ती हुन गएको देखिन्छ । कालोसूचीमा सूचीकृत भएपश्चात् वञ्चित हुने सेवासुविधा थोरै भएकाले त्यसको दायरा बढाउनुपर्ने आवश्यकता देखिन्छ । राज्यले विद्यमान आर्थिक प्रणालीलाई थप बलियो र प्रभावकारी बनाउन सार्थक रूपमा प्रयासरत रहेता पनि केही चुनौतीहरू अझै पनि विद्यमान रहेकाले राज्यले यी चुनौतीहरूको पहिचान गरी नीति निर्माणदेखि कालोसूचीसम्बन्धी कानूनी व्यवस्थाहरूमा आवश्यकताअनुरूप थप परिमार्जन गरी आर्थिक क्षेत्रको समृद्धिमा जोड गर्नु अपरिहार्य रहेको छ ।
घिमिरे वाणिज्य कानून एवं फौजदारी कानूनका विज्ञ तथा लम्साल वाणिज्य कानूनका विज्ञ अधिवक्ता हुन् ।