हरेक राष्ट्रका शक्तिका विभिन्न स्रोत हुन्छन् । मलिलो भूमि, एकताबद्ध शिक्षित जनशक्ति, सुदृढ राज्य संयन्त्रहरू, विशाल कोष, जलवृष्टि, जैविक विविधता, मित्रसञ्जाल र प्रविधि पहुँच कुनै पनि राष्ट्रका (ठोस शक्ति हार्ड पावर ) का स्रोतका रूपमा रहेका हुन्छन् ।
यसका अतिरिक्त हरेक राष्ट्रहरूसँग केही खास विशेषता हुन्छन् जसका आधारमा ठोस शक्तिलाई अझ बलशाली हुन मद्दत गर्छन् । यससलाई नै मृदुशक्ति (सफ्ट पावर) भनिन्छ । बाइनरी अपरेशनमा जुन जुन भूमिकामा एक र शून्य रहेका हुन्छन् त्यही भूमिकामा ठोस शक्ति र मृदुशक्तिहरूले देशको शक्तिलाई सुदृढ गरिरहेका हुन्छन् । माटोलाई ढुंगाको भर र ढुंगालाई माटोको भर भनेझैं ठोस शक्ति र मृदुशक्तिहरू एकआपसका परिपूरक शक्तिका रूपमा रहेर देशको शक्ति वृद्धि गरिरहेका हुन्छन् ।
- बाइनरी अपरेशनमा जुनजुन भूमिकामा एक र शून्य रहेका हुन्छन् त्यही भूमिकामा ठोस शक्ति र मृदुशक्तिहरूले देशको शक्तिलाई सुदृढ गरिरहेका हुन्छन् ।
- मृदुशक्तिको विकास र परिचालन गैरराजनीतिक चरित्रको संस्थाहरूबाट हुन जरुरी छ ।
- सनातन धर्म नेपालको मृदुशक्तिको अर्को स्तम्भका रूपमा रहेको छ जसको व्यवस्थित र संस्थागत विकास हुन जरुरी छ ।
- नेपाल आफैमा एउटा सभ्यता हो र सभ्यताहरूवीच संवाद स्थापना गर्ने नेपालको ऐतिहासिक अनुभव पनि छ ।
- मृदुशक्तिका केन्द्रहरूलाई सरकारले परोक्ष सहयोग गर्ने हो यसको प्रत्यक्ष सञ्चालन त तत्तत् संस्थाहरूले नै गर्नुपर्छ ।
- मृदुशक्तिमार्फत नेपाललाई आर्थिक, धार्मिक, प्राज्ञिक, सामाजिक, सांस्कृतिक रूपमा शक्तिशाली बनाउन सकिन्छ ।
मृदुशक्तिहरूलाई देशको इतिहास र वर्तमान अवस्था यी दुई तत्त्वले निर्धारण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा चर्चा गर्दा विगतको इतिहास र वर्तमान अवस्थालाई दृष्टिगत गर्दा मृदुशक्तिका रूपमा देहायका क्षेत्रहरू देखा परेका छन् जसको सही परिचालनले देशको समग्र शक्ति आर्जनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।
(१) संस्कृत
भारोपेली भाषा परिवारका लागि संस्कृत सबैभन्दा महत्त्वको भाषाका रूपमा रहिआएको छ । विश्वका भारोपेली भाषा परिवारले यो भाषालाई विशुद्ध भाषा विज्ञानका रूपमा अध्ययन अनुसन्धान गर्न चाहिरहेका छन् । यसका अतिरिक्त हिन्दू, बौद्ध, जैन, शिख, सिन्तो, कन्फुसियस, बोन आदि धर्मका धर्मावलम्बीहरूका लागि यो भाषा धार्मिक महत्त्वको विषयका रूपमा रहँदै आएको छ । यस अतिरिक्त भाषाशास्त्रीहरूका लागि संस्कृत व्याकरण सबैभन्दा बढी आकर्षणको केन्द्र बन्दै आएको छ । इतिहासकार, कलाकार, छन्दशास्त्री, तर्कशास्त्री, दर्शनशास्त्रीहरूका लागि यस भाषामा रहेका रचना र ग्रन्थहरू आफैमा आकर्षक विषयका रूपमा रहिआएका छन् । देवनागरी लिपिको विशुद्ध प्रयोग नेपालमा मात्रै हुन्छ । देवनागरी लिपिलाई नेपालमा संवैधानिक मान्यता प्राप्त छ । देवनागरी लिपिको प्रयोग गर्ने विश्वका सबै भाषाका लागि नेपालको यो विशुद्धता, निरन्तरता र संवैधानिक संरक्षण आफैमा विश्वभर आकर्षणको विषय भएको छ । परन्तु उपर्युक्त पाँचओटै क्षेत्रको तृष्णा मेट्ने गरी संस्कृत अध्ययन, अध्यापन र संवादको संस्थागत व्यवस्था हुन सकेको छैन । यस परिस्थितिमा उपर्युक्त पाँचओटै क्षेत्रको आवश्यकताअनुसार संस्कृत अध्ययनको वैज्ञानिक पाठ्यक्रम, वैज्ञानिक शिक्षण पद्धति र अध्ययन सुविधाको व्यवस्था हुन सकेको छैन । यस अवस्थामा सुधार ल्याई नेपाललाई संस्कृत अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न नेपालले राष्ट्रिय संकल्प लिई नेपाललाई संस्कृत भाषाको विशुद्ध प्राज्ञिक केन्द्रका रूपमा विकास गरी नेपालको मृदुशक्तिको पहिलो स्तम्भका रूपमा ग्रहण गर्न जरुरी छ ।
(२) सनातन धर्म
देशमा हाल हिन्दू, बौद्ध, किरात, बोन, धामीझाँक्री, लामालगायत सनातनकालदेखि विभिन्न विधि विधानबाट पूजाआजा गरी आफ्नो धर्मसंस्कृतिलाई पालन गरिरहेका आस्थावान् विभिन्न खालका सनातन धर्मावलम्बीहरू अस्तित्वमा छन् । यी सनातन धर्मावलम्बीहरू नेपालमा मात्रै होइन, विश्वका विभिन्न देशहरूमा छरिएर रहेका छन् जसको आस्थाको केन्द्र विन्दु नेपाल रहिआएको छ । यी धर्मको केन्द्रका रूपमा नेपाललाई विकास गर्न यी धर्मका केन्द्रहरूलाई संस्थागत गरी विश्वका उपर्युक्त सनातन धर्मका अनुयायीहरूको केन्द्रका रूपका विकास हुन सक्ने देखिन्छ । यसरी सनातन धर्म नेपालको मृदुशक्तिको अर्को स्तम्भका रूपमा रहेको छ जसको व्यवस्थित र संस्थागत विकास हुन जरुरी छ ।
(३) संस्कार संस्कृति
नेपालका केही आफ्ना विशिष्टताहरू छन् जो अन्य सभ्यताभन्दा भिन्न छन् । दोहोरी गीतलगायत लोकभाकाहरूमा नेपालमा जति विविधता अन्य कुनै पनि मुलुकमा छैन । त्यस्तै नेपालका भाषाहरू, नाचगानहरू, वाद्ययन्त्रहरू, परिकारहरू, वेशभूषाहरू, गरगहनाहरू तथा जीवनपूर्वदेखि जीवन पर्यन्तसम्मका संस्कारहरूका आआफ्नै विशिष्टता छन् जो अन्य सभ्यताका मानिसहरूका लागि अनुकरणीय आकर्षणका रूपमा रहेका छन् । नेपालीहरूको बसोवास हुने अन्य मुलुकका लागि ती विषय जीवनयापनका अभिन्न अंग नै हुन् । यसरी नेपालका मौलिक संस्कार र संस्कृतिहरूको संस्थागत विकास र प्रसारले नेपालप्रति नै अन्य सभ्यता र समाजको आकर्षण उत्पन्न हुने देखिन्छ जो नेपालको मृदुशक्तिको अर्को खम्बाको रूपमा रहेको छ ।
(४) शूरवीरता
नेपाल र बेलायती साम्राज्यको सम्पर्क स्थापना भएपछि युद्धकालमा होस् या शान्तिकालमा बेलायती साम्राज्य भर नेपालीहरूको गोर्खा ख्यातिमा व्यापक प्रचार हुन गएको छ । गोर्खा भन्नासाथ इमानदारीयुक्त शुरवीरताको ख्याति संसारभर स्थापित भएको छ जसका विश्वभरि आफ्नै खाले आकर्षण छ । यो ख्यातिको आकर्षण विश्वका कुनै पनि देशलाई उपलब्ध छैन जो नेपालको मृदुशक्तिको अर्को स्तम्भका रूपमा रहेको छ । इमानदारीयुक्त शूरवीरतालाई शिक्षा र संस्कारबाट पनि संस्थागत गर्दै यस पक्षलाई बलियो बनाउनुपर्छ ।
(५) संवत्
नेपालमा थुप्रै संवत् अस्तित्वमा छन् । ती संवत्मध्ये विक्रम संवत् पनि एक हो । नेपाल, भारत, बर्मा, थाइल्यान्ड, कम्बोडिया, लाओस, श्रीलंका, बंगलादेशलगायत विश्वका विभिन्न देशमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउने गरिन्छ । यसका अतिरिक्त नेपालमा झैं वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मान्ने भारतीय जातिहरू आसामी, बंगाली, पञ्जाबी, तमिल, कश्मिरी, कुमाई गढवालीहरू तथा ती जाति बसोवास गर्ने विश्वका अन्य मुलुकमा नेपालको आधिकारिक वैशाख १ गतेप्रति आकर्षण रहेको छ । यी जाति र देशमध्ये नेपाल आधिकारिक रूपमा विक्रम संवत्लाई अनवरत रूपमा अंगीकार गर्ने विश्वको एकमात्र मुलुक हो । तसर्थ यस संवत्मा पनि पूर्वीय सभ्यता भएका मुलुकहरूमा नेपालप्रति आकर्षण रहेको छ ।
यसैगरी नेपाल संवत्, शेर्पा, तामाङ, किरात संवत् आदि थुप्रै संवत्को पनि उद्भव भूमि हो । यी जाति बसोवास गर्ने विश्वमा रहेका मानिसमा यी संवत्प्रति विशेष आकर्षण रहँदै आएको छ । तसर्थ संवत् नेपालको मृदुशक्तिको अर्को स्तम्भका रूपमा रहिआएको छ । यी सबै संवत्को संस्थागत विकास गर्दै यी संवत्प्रति आस्था राख्ने विश्व समुदायलाई नेपालप्रति आकर्षित गर्न जरुरी देखिन्छ ।
(६) संवाद
नेपाल आफैमा एउटा सभ्यता हो र सभ्यताहरूबीच संवाद स्थापना गर्ने नेपालको ऐतिहासिक अनुभव पनि छ । लिच्छवीकालमा नेपाल भारतीय र चिनियाँ सभ्यताबीच संवाद स्थापना गर्ने मिलनविन्दुका रूपमा रहिआएको छ । चिनियाँ आविष्कारहरू नेपाल हुँदै भारतमा परिचित रहेको र भारतीय दर्शनहरू पनि नेपाल हुँदै तिब्बत चीनमा परिचित हुन गएको तथ्य त सर्वविदितै छ । यसरी संवाद पनि तत्कालीन नेपालको मृदुशक्तिको रूपमा रहेको र यसले नेपाललाई आफ्नो शक्ति स्थापित गर्न ठूलो मद्दत मिलेको तथ्यलाई दृष्टिगत गर्दा संवाद पनि नेपालको मृदुशक्तिको अर्को स्तम्भका रूपमा रहेको छ । यस अवस्थामा सभ्यताहरूबीच संवाद, शास्त्रगत संवाद र सरोकारगत संवादका लागि नेपालले आफ्नो ऐतिहासिक अनुभवलाई आधार मान्दै यस्ता क्रियाकलापहरूलाई संस्थागत रूप दिई अघि बढाउन आवश्यक छ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शितायुक्त पहलमा शुरू भएको जलवायु केन्द्रित सगरमाथा संवादलाई नयाँ उचाइका साथ निरन्तरता दिँदै सभ्यता, शास्त्र र सरोकारगत संवादहरूलाई संस्थागत गर्न जरुरी देखिन्छ ।
यसरी नेपाललाई उपर्युक्त क्षेत्रमा मृदुशक्तिका रूपमा विकास गर्न केही उच्चकोटिको क्षमताको विकास गर्नुपर्ने हुन्छ ।
पहिलो, मृदुशक्तिको विकास र परिचालन गैरराजनीतिक चरित्रको संस्थाहरूबाट हुन जरुरी छ । दोस्रो, जुन मृदुशक्ति जुन प्रयोजनका लागि संस्थागत गरिएका हुन् ती संस्थालाई सोहीअनुरूप परिचालन हुन दिने वातावरण प्रदान गरिनुपर्छ । तेस्रो, जुन जुन मृदुशक्तिको विकास र परिचालन गर्न खोजिएको हो ती संस्थाहरूको चरित्र अन्तरराष्ट्रिय रूपमा समावेशी र गुणतन्त्रबाट निर्देशित हुनुपर्छ ताकि तत्तत् क्षेत्रका संसारभरिका अनुयायीहरूले नेपालको मृदुशक्ति केन्द्रमा अपनत्व महसूस गरुन् । मृदुशक्तिले नेपालको संस्थागत छहारी दिने हो यसको नेतृत्व विश्वको सम्बद्ध क्षेत्रमा आस्थावान् जुनसुकै व्यक्तिले पनि गर्न सक्छ । चौथो, यी मृदुशक्तिका केन्द्रहरूलाई सरकारले परोक्ष सहयोग गर्ने हो यसको प्रत्यक्ष सञ्चालन त तत्तत् संस्थाले नै गर्नुपर्छ । यसका लागि दानदातव्य नै आयको प्रमुख स्रोतका रूपमा लिइनुपर्छ । सद्चरित्रता, उद्देश्यप्रतिको प्रतिबद्धता र आफ्नो भूमिकामा आबद्ध रहने व्यक्तिहरूसँगको अन्तरक्रिया र सहसम्बन्धमा उच्च नैतिकताजस्ता पक्ष विद्यमान रहँदा साथ कुनै पनि संस्थालाई दानदातव्य मनग्य रूपमा प्राप्त हुन्छ ।
यसरी उपर्युक्त ६ ओटा मृदुशक्तिमार्फत नेपाललाई आर्थिक, धार्मिक, प्राज्ञिक, सामाजिक, सांस्कृतिक रूपमा शक्तिशाली बनाउन सकिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।