काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षको दुई महीनापछि सार्वजनिक भएको उक्त विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले रू. ८ करोड ३० हजार नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले रू. ४ करोड १० लाख ५० हजार नोक्सानी व्यहोरेको थियो । कम्पनीको सञ्चालन आम्दानी बढेपनि वित्तीय खर्च र ह्रासकट्टी खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो ।
अघिल्ल्लो वर्षको चौथौ त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी रू. २६ लाख ९८ हजारबाट बढेर गत वर्ष रू. १ करोड २७ लाख ७१ हजार पुगेको छ । त्यस्तै कम्पनीको कुल आम्दानी रू. ३२ लाख ४६ हजारबाट बढेर रू. १ करोड ४८ लाख ४८ हजार पुगेको छ ।
अघिल्लो वर्ष कम्पनीको वित्तीय खर्च रू. ८० लाख ९४ हजार रहेकोमा गत वर्ष बढेर रू. ३ करोड ३१ लाख ८९ हजार पुगेको छ भने ह्रासकट्टी खर्च अघिल्लो वर्ष रू. १ करोड ५ लाख रहेकोमा गत वर्ष बढेर रू. २ करोड ८१ लाख पुगेको छ । सोही कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो ।
रू. ६८ करोड ७५ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी रू. १४ करोड ६ लाख ऋणात्मक छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ रू. ८८ रुपैयाँ ४६ पैसा छ ।