काठमाडौं । सूचीकृत वित्त कम्पनीहरूमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको नेपाल फाइनान्सको शेयर मूल्य ४७ दशमलव ७६ प्रतिशत घटेको छ । गत साउन २९ गते प्रतिकित्ता रू. २ हजार ६१४ दशमलव ९० रहेको कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिन (गत बुधवार) रू. १ हजार ३६५ दशमलव ९० मा बन्द भएको छ ।
गत साउन २ गतेदेखि बढेको कम्पनीको शेयर मूल्य सोही महीनाको २९ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसयता भने कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।
यस आधारमा २ हजार ६०० रुपैयाँभन्दा बढीमा शेयर खरीद गर्ने लगानीकर्ता अहिले घाटामा छन् । पछिल्लो केही दिनयता कम्पनीको शेयर मूल्य निरन्तर घटेसँगै लगानीकर्ताहरू सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्न थालेका छन् ।
कम्पनीको समग्र वित्तीय अवस्था र प्राविधिक अवस्था सुक्ष्म तरिकाले अध्ययन गरेर लगानी गरे शेयर बजारमा लगानी डुब्ने जोखिम कम हुने जानकार बताउँछन् ।
गत आवको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २० करोड ८२ लाख ऋणात्मक छ । यसको अर्थ कम्पनी लाभांश दिन सक्ने अवस्थामा छैन । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ । सो अवधिमा कम्पनीले रू. १ करोड ८१ लाख नाफा कमाएको छ ।
यस कम्पनीले आर्थिक वर्ष २०६७/६८ यता कुनै पनि लाभांश दिएको छैन । सो वर्ष कम्पनीले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।