काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
बुधवार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँका दरले १० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । विक्री प्रबन्धक नियुक्त भएसँगै अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति लिनका लागि प्रक्रिया अघि बढाइने जानकारी समेत कम्पनीले दिएको छ ।
ठमेल प्लाजा होटल एण्ड सुइटस कम्पनी तीन वर्षदेखि सञ्चालनमा छ । काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल 'रमदा इन्कोर काठमाडौं ठमेल'को नामबाट सञ्चालित छ ।
यस होटलले हाल ९० ओटा कोठामार्फत आन्तरिक तथा बाह्य पर्यटक/अतिथिहरूलाई सेवा प्रदान गरिरहेको छ । आईपीओ निष्कासन गर्नुअघि यस कम्पनीले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।