सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीबाट अनियमित तरीकाले आएको रकम खर्च गर्ने काममा संलग्न भएको आरोपमा कानूनी कारबाही गर्न सिफारिश गरेको छ भने लामिछानेले समितिबाट आफूले क्लिन चिट पाएको बताएका छन् । एउटै समितिले दिएको प्रतिवेदनमा यसरी दुईथरी राय आएपछि यो समिति विशुद्ध राजनीतिक उद्देश्यले गठन भएको र त्यसले राजनीतिक विवादलाई ठाउँ दिएर प्रतिवेदन दिएको विश्लेषण गर्न सकिन्छ । यसले सहकारीमा विद्यमान समस्यालाई समाधान गर्न केही ठोस सुझाव पनि नदिएको होइन तर अब सहकारीको समस्या नेपालमा राजनीतिक बहसको विषय बनिरहने संकेत यसले गरेको छ ।
नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको ठोस प्रमाण छ भनी त्यसका लागि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गरेको थियो । त्यसैले यसको गठन नै राजनीतिक उद्देश्यले अभिप्रेरित रहेको देखिन्छ । समिति गठनयता राजनीतिक दलका ठूला नेताहरू र तिनका श्रीमतीहरू सहकारी ठगीमा संलग्न रहेको र बच्नका लागि नक्कली डिभोर्स गरेको समेत समाचार प्रशस्त आइरहेका छन् । यदि संसदीय समिति गठन हुन्थेन भने सबै दलका नेताहरू तैँ चुप मै चुप गरेर बस्थे । संसदीय समिति बनेपछि भने एकअर्काका विरुद्ध प्रमाण खोज्न र सार्वजनिक गर्न दलका कार्यकर्ता लागेको देखिन्छ । यसले लुकेर बसेका सहकारीका समस्यासमेत सार्वजनिक हुने क्रम बढेको छ । यद्यपि समाचारमा आएअनुसार छानबिन समितिले रवि लामिछाने संलग्न भनिएको गोर्खा मिडियामा आएको पैसा सहकारीबाट अपचलन भई आएको हो कि होइन भन्ने स्पष्ट किटान नगरेको अवस्था छ ।
संसदीय समितिले न कुनै आरोप लगाउन सक्छ न कुनै मुद्दा अभियोजन नै गर्न सक्छ । त्यस्तै उसले गरेको अध्ययनको निष्कर्षकै आरोपमा मुद्दा दायर पनि हुन सक्दैन । त्यसका लागि त सरकारले आफै अनुसन्धान गर्नुपर्छ । त्यस्तो अनुसन्धानको आवश्यकता भने प्रतिवेदनले देखाएको छ । त्यसअनुसार यो सरकारले छानबिन गर्ने सम्भावना कमै देखिन्छ । त्यसैले आरोपप्रत्यारोपको विषय बनिरहने देखिन्छ ।
यसरी आरोपप्रत्यारोप भइरहने भए पनि सहकारीपीडितले आफ्नो रकम फिर्ता पाउने सम्भावना भने कमै देखिन्छ । झन्डै १ खर्ब रुपैयँँ विभिन्न सहकारीमा अपचलन भएको देखिन्छ । तिनलाई फिर्ता गर्न केही सुझाव पनि समितिले दिएको छ तर त्यसको कार्यान्वयन त्यति सहज देखिँदैन ।
सहकारीमा देखिने समस्या समाधानार्थ समितिले केही ठोस सुझाव दिएको छ । त्यसमा सहकारी प्राधिकरण गठन गर्ने पनि रहेको छ । सबै खाले सहकारीमा समस्या छैन भन्ने कुरामा छानबिन समितिको ध्यान नगएको देखिन्छ । त्यस्तै सहकारी भनेको सहकारीकै सदस्यहरूले नियमन गर्ने संस्था हो र त्यो मान्यताअनुसार नचलेकै कारण समस्या आएको हो भन्ने कुरामा पनि समितिले ध्यान नदिएको देखिन्छ । खासमा शहरबजारमा खुलेका वित्तीय कारोबार गर्ने संस्थालाई सहकारी भन्न नपाउने सुझाव दिएको भए सही सुझाव मानिन्थ्यो । सहकारी विभाग छँदाछँदै अर्को संयन्त्र बनाउँदा सरकारी खर्चमात्रै बढ्नेतर्फ पनि ध्यान जानु आवश्यक छ । समितिले प्राधिकरण गठन नभएसम्म राष्ट्र बैंक र सहकारी विभागबाट नियमन र अनुगमनको व्यवस्था मिलाउने, साविकका कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायाधिकरणलाई सहकारीको पनि जिम्मेवारी दिने र समस्याग्रस्त संस्थापिच्छे छुट्टै व्यवस्थापन समूह निर्माण गर्नेलगायत सुझाव पनि दिइएका छन् । हजारौंको संख्यामा रहेका सहकारीलाई कोष र न्यायाधिकरणले हेर्न सक्ने सम्भावना कमै छ । बैंक तथा वित्तीय संस्थाका कामलाई नै प्रभावकारी बनाउन कठिन भइरहेका बेला थप बोझ यिनले थेग्ने सम्भावना कमै देखिन्छ ।
सहकारीको समस्या समाधानमा संसदीय छानबिन समितिको सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हो किनभने सरकार संसदप्रति जिम्मेवार हुन्छ । तर, सबै दलका नेता तथा कार्यकर्ता सहकारीको रकम अपचलन गर्न संलग्न देखिएकाले यो किचलो यथावत् रहिरहने देखिन्छ र अध्ययन समितिको सुझाव पनि यस्तै टालटुले खालको देखिन्छ ।