देशमा सुशासनको जग बसाल्ने, आर्थिक सुधार गर्ने र संविधानका केही अमिल्दा कुरा सुधार्ने भनी मुलुकका दुई प्रमुख राजनीतिक दलले सत्ता साझेदारी गर्न ७ बुँदे सहमति गरेको २ महीना हुँदा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन् । खासमा सरकार गठन गर्नुअघि नै कुनकुन काम गर्न गठबन्धन भएको हो भन्ने कुरा ७ वुँदे सहमतिमा आए पनि ती उद्देश्य पूर्ति गर्न सरकारले लिने नीति तथा कार्यक्रमको खाका साझा कार्यक्रम बनाएर स्पष्ट पार्नुपर्छ । तर, हालसम्म त्यसो हुन सकेको छैन ।अहिले निकै शक्तिशाली सरकार बनेको छ । मुलुकका विद्यमान संकटलाई समाधान गर्न यी दुई दलको संयुक्त सरकार बन्नुपर्छ भन्ने विश्लेषण अहिलेको संसद्को संरचना बनेदेखि नै भएको हो । मुलुकमा सुशासन स्थापना गर्न, अर्थतन्त्रमा संरचनागत परिवर्तन ल्याउन र जनतामा आशाको सञ्चार गर्न बलियो सरकार आवश्यक थियो र अहिले अंकगणितका हिसाबले धेरै बलियो सरकार बनेको छ । तर, साझा कार्यक्रमको अभावमा सरकार दिशाहीन हुनसक्छ । विगतमा यी दुई दल मिलेर नै राजनीतिक परिवर्तन भएको र संविधान निर्माणमा पनि सहकार्य भएकाले त्यसले मुलुकको आर्थिक क्षेत्रमा केही परिवर्तन आउने अपेक्षा गरिएको थियो । जुन यो सरकार बने लगत्तै शेयरबजार माथि उठेबाट पनि स्पष्ट हुन्छ । तर, यो गठबन्धनले आफ्ना प्राथमिकता स्पष्ट पार्न सकेको छैन ।
अहिले देशको अर्थतन्त्र सुस्ताएको र लगानीको वातावरण नभएको भन्दै लगानीकर्ता लगानी गर्न हच्किएको अवस्था छ । वैशाखमा भएको लगानी सम्मेलनमा सरकारले लगानी आकर्षित गर्न खोजेको सबैजसो परियोजनामा लगानीकर्ताले चासो नदिएकाले स्पष्ट पार्छ । निजीक्षेत्रले पनि नीतिगत स्थिरताको माग गरेको गर्यै छ । यो बलियो सरकारले लगानीकर्तालाई नीतिगत स्थिरता हुने र लगानीको वातावरण बनाउन नीति तथा कानूनहरूमा आवश्यक सुधार गरिने प्रत्याभूति दिन सक्नुपर्छ । अघिल्लो सरकारले नयाँ चरणको आर्थिक सुधार शुरू गरिने घोषणा बजेटमार्फत गर्यो जसलाई नयाँ सरकारले पनि अपनत्व लिएको छ । २०४६ सालको परिवर्तनपछि नेपालले आर्थिक उदारीकण शुरू गर्यो । जसले गर्दा देशमा निजीक्षेत्रको विकासका उल्लेखनीय योगदान गर्यो । तर, केही वर्षयता निजीक्षेत्रको विकासमा सरकारको प्राथमिकता कम र सरकारको भूमिका बढाउने हिसाबले नीतिहरू आएका छन् । तर, त्यसो गर्दा सरकारको दायित्व बढेको छ र बढेको दायित्व वहन गर्न सरकारले संघर्ष गर्नुपरेको छ ।
सुल्टो बाटो निजीक्षेत्रलाई थप भूमिका दिई सरकारले बलियो नियमनमा ध्यान पुर्याउनु हुन्थ्यो । निजीक्षेत्रको पूर्ण वा अत्यधिक भूमिका रहेको क्षेत्रमा पनि समस्या छन् जुन सरकारको नियमन कमजोर हुँदा भएको हो । संविधानमै सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा भनियो तर तिनीहरूको बलियो नियमन नहुँदा यो खम्बा अहिले धर्मराएको छ । सरकारी निकायमा सुशासनको अभाव छ । त्यसैले अहिले अर्थतन्त्रका तीनओटै खम्बाहरूले राम्ररी काम गर्न नसकेको अवस्था छ जसको असर अर्थतन्त्रको विकासमा परेको छ र युवा पुस्ताले रोजगारी पाउन सकेका छैनन् । अहिले सत्तारूढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहँदा माथि उल्लेख गरिएका सुशासन र आर्थिक सुधारका एजेन्डालाई कति ध्यान देलान् भन्ने प्रश्न उब्जिएको छ । अहिले पुराना दलहरू र तिनका नेताहरूप्रति जनतामा ज्यादै अविश्वास बढेको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सम्मिलत सभामा युवाहरूले हुटिङ गरेका थिए । यो सुनियोजित थियो वा स्वस्फूर्त थियो त्यो अनुसन्धानको विषय होला तर युवाहरूमा अहिले राजनीतिप्रति वितृष्णा रहेको कुरा सबैलाई विदितै छ । यस अवस्थामा अहिले बलियो सरकारले सबैलाई आश्वस्त पार्ने हिसाबले निर्णायक कदम चाल्ने अवसर प्राप्त गरेको छ । २०७४ सालको चुनावपछि पनि दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अवसर खेर फाल्नुभएको थियो । उनले त्यस्तै अवसर दोस्रोपटक पाउनुभएको छ । के उनले यो अवसरलाई सदुपयोग गर्न सक्नुहोला र देशलाई आर्थिक विकासको गोरेटोमा लैजान सक्नु होला ? धेरैमा भरोसा छैन तर आशा भने लिन सकिन्छ ।