केही समयअघि श्रीलंकाले नेपाली पत्रकारहरूलाई श्रीलंकाको भ्रमण गरायो र त्यहाँको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्यो । त्यहाँ पुगेका पत्रकारले त्यहाँको पर्यटनसम्बन्धी सामग्री लेखेर नेपालीलाई श्रीलंका घुम्न उत्प्रेरित गरे । श्रीलंकाले त्यतिमात्र गरेन, नेपालीहरूलाई भिसा नचाहिने व्यवस्थासमेत गर्यो । पर्यटन नै मुख्य आयस्रोत भएको श्रीलंकाले यसरी नेपालको पर्यटन बजारमा आँखा लगायो । यद्यपि नेपालबाट श्रीलंका घुम्न जानेको संख्या थोरै छ । नेपाल पर्यटनको ठूलो स्रोत बजार नभए पनि उसले नेपाललाई समेत महत्त्व दियो । त्यस्तै इन्डोनेशियाले पनि नेपाली पर्यटकलाई लक्षित गरेर नेपालमा प्रवर्द्धनात्मक कार्य गरिरहेको छ । उसले नेपालमा सेल्स मिशन कार्यक्रम सम्पन्न गरेको छ । इन्डोनेशियाको बाली नेपालीहरूको मुख्य आकर्षक गन्तव्य रहेको छ । नेपाली टुर अपरेटरहरूले त्यहाँको प्याकेज विक्री गरिरहेका छन् । त्यस्तै पछिल्लो समय विश्वकै लागि आकर्षक र सस्तो गन्तव्य मानिएको भियतनाममा पनि नेपाली पर्यटकको संख्या बढ्दो छ । दशैंका लागि मात्रै नेपाली टुर अपरेटरहरूले श्रीलंका, माल्दिभ्स, बाली, सिंगापुर, थाइल्यान्ड, मलेशिया, दुबई, बेइजिङ र यूरोप भ्रमणका आकर्षक प्याकेज सार्वजनिक गरेका छन् । टुर अपरेटरहरूका अनुसार यस्तो प्याकेजमा आकर्षण बढिरहेको छ ।
दशैंतिहारमा हुने लामो बिदा र अतिरिक्त आम्दानीका कारण नेपालीहरू विदेश घुम्न जाने लहर पैदा भएको छ । त्यसैले नेपालको भ्रमण आयभन्दा व्यय बढी रहेको देखिन्छ । अर्थात् पर्यटनमा ठूलो सम्भावना भनेर भनिरहँदा पर्यटनबाट आउने पैसाभन्दा विदेशिने पैसा बढिरहेको छ । आउटबन्ड पर्यटनले निश्चयै मुलुकको विदेशी मुद्रा विदेशिन्छ तर यसका केही लाभ पनि छन् । यसले नेपालमा गरीब मुलुक हो भन्ने सोचाइलाई फेरिदिन्छ । अर्को ती पर्यटन क्षेत्रमा नेपालको पनि प्रचार हुन्छ र त्यहाँबाट पनि पर्यटक नेपाल आउन सक्छन् । तर, आउटबन्ड पर्यटनको लाभ लिने गरी टुर अपरेटरहरूले काम गर्न सकेको देखिँदैन । उनीहरूले बेच्ने टुर प्याकेज ती देशका टुर अपरेटरहरूसँग मिलेर गर्ने हो । यस्तोमा ती देशबाट पनि पर्यटक ल्याउने गरी यस्ता प्याकेज विक्री गर्न सक्नुपर्छ । भियतनामबाट विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल ल्याउने र त्यही चार्टरबाट नेपालीलाई सस्तोमा भियतनाम घुमाउने व्यवस्था एकाध टुर अपरेटरले मिलाएका थिए । यस्तै व्यापार रणनीति अरूले पनि लिन सक्छन् ।
सरकारले पनि पर्यटनको प्रचारका लागि पर्यटनसम्बन्धी ब्लग, विचार लेख्ने, भ्लग बनाउने व्यक्तिहरूलाई नेपाल आमन्त्रित गरी ती देशमा नेपालको पर्यटनको प्रचार गर्नुपर्छ । तर, प्रचारले मात्रै पुग्दैन त्यहाँका पर्यटकलाई लक्षित गरेर उपयुक्त खालको प्याकेज पनि लैजान सक्नुपर्छ । त्यसो नगर्दा नेपालको पर्यटन क्षेत्रको प्रचार भएर पनि पर्यटन आगमन बढाउन सकिएको छैन । अर्थात् आउटबन्ड पर्यटनबाट जेजति लाभ लिन सकिन्थ्यो त्यो लाभ लिन सकिएको छैन । प्रचार गर्नु भनेको नेपाल राम्रो छ भन्नु मात्र होइन । नेपालमा आउँदा लाग्ने खर्च, आउने माध्यम, भिसा प्रक्रिया आदिको जानकारी र त्यसमा सहजीकरण पनि हो । तर, यस्ता काम प्रभावकारी रूपमा भएको देखिँदैन ।
नेपालमा पर्यटनको सम्भावना छ भनेर जति नै भने पनि एउटा वायु सेवा कम्पनीसमेत राम्ररी सञ्चालन गर्न सकिएको छैन । बालीमा नेपाली पर्यटक प्रशस्त जान्छन् । त्यहाँ नेपाल वायु सेवा निगमको उडान हुने हो भने नेपाली जाँदाको लाभ पनि केही हुन्छ र त्यो जहाजले त्यहाँबाट नेपालमा पर्यटक पनि ल्याउँछ । निगमले सिड्नी उडानको तयारी गरेको समाचार आएको लामो समय भए पनि त्यहाँको उडान अझै निश्चित भएको छैन । यस्तो जुम्सो पाराले अहिलेको प्रतिस्पर्धी विश्वमा कुनै पनि लाभ लिन सकिँदैन । त्यसैले नेपालले पर्यटनको प्रचार नीतिमा परिवर्तन गर्नु आवश्यक छ । नेपाल प्राकृतिक सौन्दर्यका धनी छ भनेर मात्रै पर्यटक बढाउने कुरा अब बिर्सिदिए हुन्छ । पर्यटकहरू हेर्नका लागि मात्रै आउँदैनन्, विभिन्न गतिविधि गर्न आउँछन् । नेपालमा पर्यटन गतिविधिमा विविधता ज्यादै कम छ । नेपालको भौगोलिक बनोटअनुसार यस्ता गतिविधि गराउन नसक्ने हो भने सुन्दर देश भनेर मात्रै पर्यटक आउँदैनन् भन्ने कुरामा नेपालको ध्यान जान ढिला भइसकेको छ ।