हाल सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अंगजस्तै बनेको छ । विज्ञानको अहिलेसम्मको अनमोल उपहार सावित हुन पुगेको छ । सामाजिक सञ्जालको अभूतपूर्व विकास र प्रयोगले संसारलाई एकै साथ जोडेर निकै सामीप्य स्थापित गरेको छ । यसले सञ्चारको माध्यमको परिभाषालाई आमूल परिवर्तन गर्दै हाम्रो जीवनशैलीलाई पनि व्यापक रूपमा प्रभावित पारिरहेको छ । सञ्चारको दुनियाँमा लागत कम गरी एकअर्काको दूरीलाई सामाजिक सञ्जालले निकै नजिक तुल्याइदिएको छ । सामाजिक सञ्जालले आधुनिक समाजका लागि एक क्रान्तिकारी परिवर्तनको संवाहकका रूपमा व्यापक भूमिका खेलेको छ । कुनै पनि क्षेत्रमा तुरुन्त सूचना तथा जानकारी प्राप्त गर्न सामाजिक सञ्जालको व्यापक महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले निकै प्रभावित पारेको क्षेत्र शेयरबजार पनि हो ।
हालसालैको गरिएको एक अध्ययनअनुसार विश्वमा कुल जनसंख्याको करीब ६४ प्रतिशतले कुनै न कुनै रूपमा सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग र विस्तार व्यापक रूपमा बढिरहेको छ । ग्लोबल डिजिटल रिपोर्ट २०२४ को अध्ययनअनुसार नेपालमा कुल जनसंख्याको करीब ४५ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्छन् । सामाजिक सञ्जालको प्रयोग र विस्तारले समाजका हरक्षेत्रमा यसको प्रभाव अतुलनीय रूपमा पारिरहेको छ । नेपालको शेयरबजारमा पनि सामाजिक सञ्जालको प्रभाव परेको देख्न सकिन्छ । विशेषगरी कोभिड–१९ को महामारीपश्चात् शेयरबजारमा आम लगानीकर्ताको उपस्थिति व्यापक रूपमा वृद्धि भयो । त्यसपछि शेयरबजारसम्बन्धी सूचना तथा जानकारीको आदानप्रदान गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तार भएको छ । साथै, विभिन्न किसिमका सामाजिक सञ्जालजस्तै फेसबुक, एक्स, युट्युब, भाइबर, इन्स्टाग्राम, क्लबहाउस, वाट्सएप जस्ता प्लेटफर्ममार्फत आजकाल शेयरबजारका बारेमा व्यापक छलफल, चर्चा परिचर्चा तथा शेयरसम्बन्धी सूचना वा जानकारी आदानप्रदान भएको छ । यसले शेयरबजारका लगानीकर्ताको उपस्थिति बढाउन सहयोग पुर्याएको देखिन्छ ।
शेयरबजार : हिजो र आज
करीब १ दशक अगाडिसम्म शेयरबजारका लगानीकर्ता शेयर बजारसम्बन्धी सूचना तथा जानकारीका लागि अधिक रूपमा पत्रपत्रिका अध्ययन गर्ने तथा घरपरिवार, नजिकका आफन्त साथीभाइ र शेयरबजारसम्बन्धी जानकार व्यक्तिसँग छलफल गरी लगानीको निर्णयमा पुग्दथे । हाल सामाजिक सञ्जालको अधिक विकास तथा विस्तारले गर्दा धेरै लगानीकर्ता सामाजिक सञ्जालका विभिन्न माध्यम जस्तै फेसबुक, एक्स, युट्युब, भाइबर, इन्स्टाग्राम, क्लबहाउस, वाट्सएपजस्ता स्रोतहरूबाट शेयरबजारसम्बन्धी सूचना तथा जानकारी प्राप्त गर्ने र उक्त सूचना तथा जानकारीलाई आधार बनाएर शेयरबजारमा लगानीको निर्णयमा पुग्छन् । हालसालै छिमेकी मुलुक भारतमा भएको एक अध्ययनअनुसार शेयर बजारसम्बन्धी सूचना तथा जानकारी र लगानीको निर्णय गर्न लगानीकर्ताले २१ प्रतिशत युट्युब, १६ प्रतिशत फेसबुक तथा १४ प्रतिशत एक्सजस्ता सामाजिक सञ्जालको माध्यम प्रयोग गरेको पाइन्छ । त्यस्तै साइप्रस सेक्युरिटी एन्ड एक्सचेन्ज कमिशनको अध्ययनअनुसार करीब २२ प्रतिशत साना लगानीकर्ता सामाजिक सञ्जालबाट प्रचारित विषयवस्तु हेरेर लगानीको निर्णयमा पुग्छन् । यी आँकडाहरूले सामाजिक सञ्जालमा आबद्ध लगानीकर्ताले शेयरबजारसम्बन्धी सूचना तथा जानकारी प्राप्त गर्न र लगानीको निर्णय गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने गरेको देखाउँछ । पछिल्लो समयमा सामाजिक सञ्जालको अभूतपूर्व प्रयोग र विस्तारले नेपालको शेयरबजारमा पनि यसको महत्त्वपूर्ण प्रभाव पर्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यम फेसबुक, एक्स, युट्युब, भाइबर, इन्स्टाग्राम, क्लबहाउस, वाट्सएपमा शेयरबजारको गतिविधिबारे व्यापक बहस, छलफल हुने गरेको छ तथा सूचनाको आदानप्रदान हुने गरेको छ । यसले नेपालका आमलगानीकर्तालाई शेयरबजारप्रति तीव्ररूपमा आकर्षित गरेको छ । साथसाथै नेपालका सम्पूर्ण मूलधारका सञ्चारमाध्यमले पनि सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोग गरी शेयरबजारसम्बन्धी सूचना तथा जानकारीहरू प्रवाह गरिरहेका छन् । यसरी सामाजिक सञ्जालको माध्यमबाट प्रवाहित सूचना तथा जानकारीको समुचित प्रयोग गरी आमलगानीकर्ताहरूलाई शेयरबजारमा लगानीको निर्णयमा पुग्न सहयोग पुगेको छ । यसरी शेयरबजारमा सामाजिक सञ्जाल सूचना आदानप्रदान गर्ने सञ्चारको अभिन्न माध्यम बन्दै गइरहेको छ ।
नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले विसंगत र विकृत क्रियाकलापलाई यथाशक्य निरुत्साहित गर्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका निर्माण र लागू गरी शेयरबजारमा सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन आवश्यक छ ।
फिनफ्लुएन्सर
विश्वव्यापी रूपमा पछिल्लो समय अर्थतन्त्र, वित्त, शेयरबजार, लगानी सम्बन्ध सूचना तथा जानकारी आदानप्रदान गर्न, लगानी विश्लेषण गर्न र रायसुझाव दिन विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्, जसले शेयरबजारमा प्रभाव गरिरहेको छ । शेयरबजारसम्बन्धी सूचना जानकारी, बजारको उतारचढाव, भविष्यवाणी, लगानीसम्बन्धी रायसुझाव, व्यक्तिगत अनुभव, शेयरबजार जानकारहरूको अन्तरवार्ता आदि विषयवस्तुका सामग्री उत्पादन गरेर सामाजिक सञ्जालको माध्यमबाट प्रसारित गरी आमलगानीकर्तालाई प्रभाव पार्ने कार्यलाई फिनफ्लुएन्सरको रूपमा हेर्न सकिन्छ । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी फिनफ्लुएन्सरले शेयरबजारसम्बन्धी सामग्रीहरू तयार गरी सूचना तथा जानकारी आदानप्रदान गर्दै आएका छन्, जसले लगानीकर्तालाई प्रत्यक्ष फाइदा पनि पुगेको छ । यसले गर्दा आमलगानीकर्ताले शेयरबजारसम्बन्धी सूचना तथा जानकारी सुलभ र सहज तरीकाले प्राप्त गर्न सक्षम भएका छन् । साथसाथै नेपालका मूलधारका सञ्चारमाध्यमले पनि सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरी शेयरबजारसम्बन्धी सामग्रीहरू उत्पादन गरी आमलगानीकर्तालाई सुसूचित गर्न सहयोग पुर्याएका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले शेयरबजारमा पनि सकारात्मकमात्र होइन नकारात्मक प्रभाव पनि पार्दै गएको छ ।
सामाजिक सञ्जाल शेयरबजारसम्बन्धी सूचना जानकारी तथा विश्लेषण र सम्पे्रषण गर्ने एक सहज र सुलभ माध्यम बनेको छ । आमलगानीकर्ताले यसको समुचित प्रयोगबाट सहज रूपमा शेयरबजारसम्बन्धी सूचना जानकारी, बजारको उतारचढाव, भविष्यवाणी, लगानी सूत्र, आधारभूत र प्राविधिक विश्लेषणजस्ता पक्षको सूचना सहज, सुलभ र तुरुन्त प्राप्त गर्न सक्छन् । सामाजिक सञ्जाल पारम्परिक सञ्चारमाध्यमलाई विस्थापित गरी सहज, सुलभ र तुरुन्त सूचना आदानप्रदान गर्ने साधनका रूपमा विकसित हुन पुगेको छ । सामाजिक सञ्जालले आमलगानीकर्तालाई लगानी, शेयरबजारसम्बन्धी जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसबाट साना लगानीकर्ताहरूको शेयरबजारसम्बन्धी सूचना तथा जानकारीमा सहज पहुँच पुगेको देखिन्छ । साना लगानीकर्ता पनि विभिन्न लगानीसम्बन्धी छलफल, ज्ञान/विचार आदानप्रदान गर्न सक्षम बन्दै गएका छन् । साथै उनीहरूको पनि आवाज मुखरित हुन पाएको छ ।
एक सिक्काका दुई पाटा भएजस्तै सामाजिक सञ्जालको प्रयोग र विस्तारले शेयरबजारमा पनि विभिन्न विसंगति तथा विकृति देखिन थालेको पाइन्छ । सामाजिक सञ्जालमा लगानीसम्बन्धी जुन शिक्षा, मन्त्र, मोडल तथा उपायहरू साझा गरिन्छ, त्यो सबै लगानीकर्ताको लागि काम नगर्न सक्छ । सबैका लागि एउटै आकार भन्ने मोडलले काम गर्दैन । त्यसैले आफ्नो आवश्यकता, लगानी समय, लगानीको स्रोत आदिले प्रभावित गर्ने भएकाले त्यस सम्बन्धमा लगानीकर्ताहरू जागरुक हुन आवश्यक छ । लगानी गर्दा पूरै सामाजिक सञ्जालमा प्रचारित विचार, सूचना तथा जानकारीमा मात्र भर पर्दा लगानी डुब्न सक्छ । साथै यसले लगानीकर्ता स्वयम् मिहेनत, अध्ययन नगर्ने र सञ्जालमा प्रसारित विचारलाई फिल्टर नगर्ने बानीको विकास हुँदै जाँदा लगानीमा समस्या आउन सक्छ । सामाजिक सञ्जालमा केही फिनफ्लुएन्सरले आफ्नो व्यक्तिगत लाभ आर्जनका लागि कहिलेकाहीँ गलत सूचना तथा जानकारी प्रसारित गर्ने गर्छन् । गलत लगानीको सल्लाह दिने गरेको पनि पाइन्छ । त्यसले आमलगानीकर्तालाई गलत सूचनाको पासोमा पार्न सक्छन् ।
नियामक निकायको भूमिका
विभिन्न सामाजिक सञ्जालको उपयोग गरी नेप्से बजार परिसूचक यति बढ्छ, यति घट्छ, अमूक सूचीकृत संगठित संस्थाको शेयरको मूल्य बढ्छ वा घट्छ भन्दै निश्चित शेयरहरू खरीद गर्न वा विक्री गर्न उत्साहित गराउने सूचना जानकारी तथा छलफल प्रचारप्रसार भएको देख्न पाइन्छ । साथसाथै सामाजिक सञ्जालका विभिन्न माध्यम जस्तै फेसबुक, एक्स, युट्युब, भाइबर, इन्स्टाग्राम, क्लबहाउस, वाट्सएपबाट शेयरबजारलाई प्रभावित पार्ने संवेदनशील सूचना, अमुक शेयर किन्न वा बेच्न उक्साहट गराउने जस्ता गलत अभ्यास भएका छन् । आफूलाई शेयर बजार विज्ञ हुँ भनी बजारको बारेमा टीकाटिप्पणी गर्ने, अन्तरवार्ता लिने वा दिनेजस्ता क्रियाकलाप निकै बढ्दै गएका छन् । यस्ता क्रियाकलापले धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालनको सिद्धान्तलाई खिल्ली मात्र उडाएको छैन, लगानीकर्ताले त्यस्ता भ्रामक सूचना तथा जानकारीको पछि लागि लगानीको निर्णय गर्दा आफ्नो लगानीको ठूलो अंश गुमाएका पनि छन् । त्यसैले लगानीकर्ताले पनि धितोपत्र बजारमा लगानी गर्दा यस्ता हल्ला र निराधार अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवम् लगानीकर्ताको जोखिम वहन गर्न सक्ने क्षमता तथा लगानीको सुरक्षा आदि बृहत् पक्षलाई दृष्टिगत गरी सुझबुझपूर्वक लगानी गर्नुपर्ने देखिन्छ ।
आमलगानीकर्ताले लगानी गर्दा पूरै सामाजिक सञ्जालमा प्रचारित विचार, सूचना तथा जानकारीमा मात्र भर पर्दा लगानी डुब्न सक्छ । साथै, लगानीकर्ता स्वयम् मिहनेत, अध्ययन नगर्ने र सञ्जालमा प्रसारित विचारलाई फिल्टर नगर्ने बानीको विकास हुँदै जाँदा लगानीमा समस्या आउन सक्छ ।
धितोपत्रको बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालन गरी आमलगानीकर्ताको हित संरक्षण र प्रवर्द्धन गर्नुपर्ने नेपालको पूँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले यस्ता गलत अभ्यास तथा विकृतिहरूलाई समयमा रोक्न प्रभावकारी कदम अविलम्ब चाल्न आवश्यक छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको छ । यसो गरेमा धितोपत्रसम्बन्धी कसूर गरेको मानिने व्यवस्था छ । उक्त कानूनी व्यवस्था मात्र धितोपत्र बजारमा सामाजिक सञ्जालको नकारात्मक प्रभावलाई निरुत्साहित गर्न पर्याप्त देखिँदैन । त्यसैले देखिएकोले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न शेयरबजारमा यसको सञ्चालन, प्रयोग र नियन्त्रणका लागि निर्देशिका निर्माण गरी लागू गर्न अत्यन्तै आवश्यक देखिन्छ । विश्वका अन्य मुलुकका धितोपत्र बजार नियमन निकायमा जस्तै नियमन निकायबाट अनुमति प्राप्त गरेका रजिस्टर्ड व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययन तथा अनुसन्धानको आधारमा मात्र दोस्रो बजार परिसूचक, शेयरबजार, सूचीकृत संगठित संस्थाको शेयर मूल्य, बजारको उतारचढावको दिशा, शेयर लगानीसम्बन्धी सल्लाह, सुझाव जस्ता विषयवस्तुमा सामाजिक सञ्जालबाट सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था गर्नु आवश्यक देखिन्छ । यसले गर्दा सामाजिक सञ्जालमा स्वघोषित शेयरबजार विज्ञ बनेर शेयरसम्बन्धी शिक्षा दिने क्रम पनि रोकिन्छ । हालै छिमेकी मुलुक भारतको धितोपत्र बजारको नियमन निकाय भारतीय प्रतिभूति और विनियम बोर्ड (सेबी) ले पनि सामाजिक सञ्जालमार्फत शेयरबजारमा भ्रामक सूचना प्रसारण गर्ने तथा लगानीसम्बन्धी गलत रायसल्लाहलाई निरुत्साहित गर्न एक निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकाअनुसार सेबीमा रजिस्टर्ड हुनुपर्ने र रजिष्टर्ड व्यक्ति वा संघसंस्थाले सेबीद्वारा जारी भएका निर्देशिकाको अक्षरश: पालना गरेर मात्र सामाजिक सञ्जालमा शेयरबजारसम्बन्धी सूचना, जानकारी तथा लगानी सल्लाह दिन पाइने उल्लेख गरेको थियो ।
नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोग र विस्तारले शेयरबजारमा सकारात्मक प्रभावका साथै नकारात्मक प्रभाव सृजना गरी धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालनको सामान्य सिद्धान्तमा अवरोध खडा गर्नुका साथै आमलगानीकर्ताहरूलाई गलत सूचना प्रवाह गरी अन्योलको वातावरण निर्माण गरिरहेको अवस्था विद्यमान छ । त्यसैले नेपालको धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले यस्ता विसङ्गति र विकृत क्रियाकलापलाई यथाशक्य निरुत्साहित गर्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका निर्माण र लागू गरी शेयरबजारमा सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन आवश्यक छ । साथसाथै आमलगानीकर्ताले पनि सामाजिक सञ्जालमार्फत प्रसारित भएका गलत सूचनाको बाढीलाई फिल्टर गरी राम्ररी अध्ययन अनुसन्धानपछि मात्र लगानीको निर्णय स्वतन्त्रपूर्वक लिन अत्यन्तै आवश्यक छ । यस सम्बन्धमा अहिलेका प्रसिद्ध लेखक युवाल नोह हरारीले एक अन्तरवार्ताको क्रममा हरेक व्यक्तिले खानामा फुड डाइटिङ गरे जस्तै सूचनाको बाढीमा सबैले इन्फरमेशन डाइटिङ गर्नुपर्ने सुझाव दिएका छन् । जसको तात्पर्य आमलगानीकर्ताले सामाजिक सञ्जालबाट शेयरबजारसम्बन्धी सूचनाहरू लिन त सक्छन् तर निर्णय आफै गर्नुपर्छ । अर्थात् इन्फरमेशन डाइटिङ गर्नुपर्छ । अन्यथा इन्फरमेशन पोइजनिङ हुन सक्छ ।
लेखक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का वरिष्ठ अधिकृत हुन् ।