नयाँ स्टक एक्सचेञ्ज स्थापनाको पहल भएसँगै नेपाल धितोपत्र बोर्डमा आफ्नो मान्छे अध्यक्षमा ल्याउन व्यावसायिक घरानाबीच प्रतिस्पर्धा चलेको र त्यसकै कारण अहिलेसम्म यसको अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिएको बताइएको छ । पूँजीबजारजस्तो संवेदनशील क्षेत्रमा नियामक संस्थाको प्रमुख नियुक्तिमा भएको यो चलखेलले नेपालको शेयर बजार केही टाठाबाठाको खेलमा पर्ने सम्भावना बढेको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको पदावधि २०८० पुस २० गते समाप्त भए पनि नयाँ नियुक्तिका लागि प्रक्रिया शुरू गर्नै महीनौं कुर्नुपर्यो । अर्थमन्त्रालयलाई यो पदावधि सकिने मिति थाहा भए पनि उसले कानमा तेल हालेर बस्नुमा तत्कालीन अर्थ मन्त्रीको स्वार्थ होला भनेर अनुमान गर्न सकिन्छ । नियुक्ति प्रक्रिया शुरू भएसँगै व्यापारिक घारानाले आफूअनुकूल व्यक्ति अध्यक्षमा ल्याउन लबिङ गरेको र त्यसमा राजनीतिक नेताहरूको स्वार्थ मिसिएकाले नियुक्ति प्रक्रिया शुरूदेखि नै विवादमा परेको थियो ।
अध्यक्ष सिफारिसका लागि अघिल्लो सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले जारी गरेको सूचनाअनुसार १९ जनाले आवेदन दिएका थिए । तीमध्ये नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईं गरी ५ जनालाई कार्यपत्र मूल्यांकन तथा अन्तरवार्ताका लागि छनोट गरेको थियो । तर, अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठबाहेक तीन जना उपस्थित भएनन् । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ तर अन्तरवार्तामा अनुपस्थित भएर प्रक्रिया नै बिथोल्ने काम भएपछि के गर्ने स्पष्ट व्यवस्था छैन । सरकारले यो प्रक्रिया नै खारेज गरेपछि विवाद सर्वोच्चमा पुग्यो र अदालतले प्रक्रिया खारेज गर्ने निर्णयलाई अन्तरिम आदेशमार्फत रोकिदियो । बाहिर हेर्दा कानूनी त्रुटि जस्तो देखिए पनि र केही कानूनी लडाइँजस्तो लागे पनि खासमा यो व्यापारिक घरानाको स्वार्थमा प्रभावशाली नेताहरूले गरेको खेल हो जसले पूँजीबजारलाई भलो गर्दैन ।
व्यापारिक घरानाको स्वार्थमा नियुक्त हुने बोर्डका अध्यक्षले लगानीकर्ताका हितमा काम गर्ला भनेर कसरी पत्याउने ? स्वार्थ समूहको हितविपरीत सर्वसाधारण लगानीकर्ताको हितमा बोर्डले निर्णय गर्ने कुरामा आशंका उत्पन्न हुन्छ । विगतमा बोर्डका केही अध्यक्षहरूका विवादास्पद निर्णय पनि स्वार्थ समूहको भलो हुने गरी गरिएको स्पष्ट नै छ । यस्ता नियामक भनेको नाम मात्रको हुन्छ र बजारमा भएका चलखेलको अनुसन्धान गर्न सक्दैन । त्यसमा पनि मूल्यान्वेषण विधिमै चलखेल गर्ने, कमोडिटी एक्सचेन्ज स्थापनामा पनि भित्री लेनदेन नमिलेर प्रक्रिया नै रोक्ने जस्ता काम भइरहेका छन् । शेयर बजारमा पनि कर्नरिङलगायतका गलत अभ्यास भइरहेका छन् जसलाई रोक्न नियामकले सकेको छैन । यस्तोमा नियामकको नियुक्तिमै अनेक चलखेल र विवाद हुँदा त्यसले पूँजीबजारप्रति अविश्वास जगाउने देखिन्छ ।
अहिले अध्यक्षको अभावमा मन्त्रालयका प्रतिनिधिले काम गर्न सक्ने व्यवस्था गरिएको छ । तर, अर्थमन्त्रालयबाट आएका सञ्चालकले जोखीम लिन नचाहने र विवादमा फसिन्न्छ भनी डराइरहेकाले आईपीओ निष्कासनलगायतका काम रोकिएका छन् । शेयर बजारप्रति सकारात्मक भनिएका वर्तमान अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार बढाउने गरी अभिव्यक्ति दिए पनि विनाकारण शेयर बजार बढी पछि तल झर्दा लगानीकर्ता मर्कामा परेको कुरामा भने ध्यान दिएको पाइँदैन ।शेयर बजार उकास्ने गरी दिइएको अभिव्यक्तिका कारण वित्तीय अवस्था एकदमै कमजोर रहेका कम्पनीहरूको शेयरको भाउले उचाइ छोयो । नेताहरू लोकरिझ्याइँका लागि बजार बढ्ने गरी अभिव्यक्ति दिने र सर्वसाधारण लगानीकर्ता डुब्ने अवस्था सिर्जना गर्नु गैरजिम्मेवार काम हो । खासमा नियामक निकायले यस्तो प्रवृत्तिको विरोध गर्न सक्नुपर्थ्यो । शेयर बजारलाई व्यवस्थित र नियमबद्ध ढंगले चलाउन आवश्यक नियामक निकायलाई सबल बनाउने काम भने सरकारले गरेको छैन । त्यसैले यस्तो स्वार्थबझानको चक्करले नेपालको पूँजी बजारले स्वच्छ विकास गर्ने कल्पना गर्न सकिँदैन ।