टोकियो (जापान) । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्या ९५ हजारभन्दा बढी रहेको पाइएको छ, जसमा ९० प्रतिशत महिला रहेको सरकारी तथ्यांकले देखाएको छ । सेप्टेम्बर १ सम्ममा जापानमा ९५ हजार १ सय १९ जना शताब्दी व्यक्ति छन्, जसमध्ये ८३ हजार ९ सय ५८ जना महिला र ११ हजार १ सय ६१ जना पुरुष छन् ।
आइतवार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार ६५ वर्षभन्दा माथिका मानिसको संख्या ३ करोड ६२ लाख ५० हजार पुगेको छ, जुन जापानको जनसंख्याको २९.३ प्रतिशत हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक लाखभन्दा बढी जनसंख्या भएका २०० देश र क्षेत्रको सूचीमा जापानलाई शीर्ष स्थानमा राखेको जनाएको छ ।
अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०८ को मे २३ मा जन्मिएका जापानी नागरिक टोमिको इटुका अहिले विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्ति हुन् । यसअघि यो कीर्तिमान मारिया ब्रान्यास मोरेराको नाममा थियो । उनको गत महीना स्पेनमा ११७ वर्षको उमेरमा निधन भएको थियो । त्यसयता उक्त कीर्तिमान इटुकाको नाममा छ ।
इटुका पश्चिमी जापानको ह्योगो प्रान्तको आसियास्थित एक नर्सिङ होममा बस्छिन् । उनी प्रायः नर्सिङ होमका कर्मचारीलाई 'धन्यवाद' भन्ने गर्छिन् । मेरो लामो जीवनको रहस्य के हो भन्नेबारे मलाई केही थाहा छैन,' जापानका ११० वर्षीय वृद्ध कियोताका मिजुनोले स्थानीय सञ्चारमाध्यमलाई भनेकी छन् ।
मध्य जापानको शिजुओका प्रान्तको इवाटामा परिवारसहित बस्ने मिजुनो हरेक बिहान ६:३० बजे उठ्छिन् । र, दिनको तीन पटक खाना खान्छिन् । सुमो रेस्लिङलगायत लाइभ खेल सुन्नु उनको सौख रहेको मन्त्रालयले जनाएको छ ।
जापानले बढ्दो वृद्ध जनसंख्या संकटको सामना गरिरहेको छ, किनकि यसले चिकित्सा र सामाजिक सुरक्षा दायित्व लागत बढाउँछ ।
सरकारी तथ्यांकअनुसार देशको कुल जनसंख्या १२ करोड ४० लाख छ । यो अघिल्लो वर्षको तुलनामा ५ लाख ९५ हजारले कम हो । यो तथ्यांकले त्यहाँको घट्दो जनसंख्या रहेको पुष्टि गर्छ ।
देशको जनसंख्याको घट्दो दर र बुढ्यौलीलाई कम गर्ने प्रयास गरेको छ । सरकारले बुढ्यौलीलाई कम गर्न सेवानिवृत्त उमेर बढाउन लागेको छ । त्यहाँको सरकारले आर्थिक वर्ष २०२५ देखि सबै रोजगारमा सेवानिवृत्त उमेर बढाएर ६५ वर्ष पुर्याउने नियम बनाएको छ । एएफपी/रासस