काठमाडौं । कुनै समय महामारीका रूपमा फैलिएको औलो नेपाललगायत विश्वभर नियन्त्रणमा आउन लागेको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको ‘वर्ल्ड मलेरिया रिपोर्ट २०२४’ अनुसार पछिल्लो २३ वर्षमा विश्वभर औलोबाट हुने मृत्युदर आधाभन्दा बढीले घटेको छ ।
सन् २००० मा विश्वभर प्रतिलाख २८.५ जनाको औलो संक्रमणबाट मृत्यु हुने गरेकोमा सन् २०२३ मा यो दर घटेर १३.७ पुगेको छ ।
विश्वभर औलोबाट हुने मृत्युदर मात्रै होइन, यसको संक्रमणको जोखिम पनि घटेको छ ।
प्रतिवेदन अनुसार सन् २००० मा विश्वभर औलो संक्रमणको जोखिम प्रतिहजारमा ७९ जनालाई थियो । सन् २०२३ मा यो संख्या ६०.४ मा झरेको छ ।
२३ वर्षमा दक्षिण–पूर्वी एशिया क्षेत्रका देशहरूमा औलोबाट हुने मृत्युदरमा भने ८८.८ प्रतिशतले कमी आएको छ ।
सो क्षेत्रमा सन् २०२३ मा औलोको कारण मृत्यु हुनेको संख्या ६ हजार पुगेको विश्व स्वास्थ्य संगठनको अनुमान छ । सन् २००० मा भने यो संख्या ३५ हजार थियो । यो क्षेत्रमा सन् २००० मा औलोको मृत्युदर प्रति १ लाख २.७ जना रहेकोमा सन् २०२३ मा ०.३ मा झरेको छ ।
औलोबाट हुने मृत्युदर मात्रै होइन, यसको संक्रमण पनि घटेको पाइएको छ । सन् २०२२ देखि २०२३ सम्म नेपालमा यसको अनुमानित संक्रमणमा ५८.३ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा बंगलादेशमा ९.२ प्रतिशतले, भारतमा ९.६ प्रतिशतले र इन्डोनेसियामा ५.७ प्रतिशतले अनुमानित संक्रमण घटेको देखिन्छ । तर, केही देशमा भने अनुमानित संक्रमण बढेको देखिन्छ । प्रतिवेदनअनुसार जनगणतन्त्र कोरियामा ४७.९ ५ ले, म्यानमारमा ४५.१ ५ ले र थाइल्याण्डमा ४६.४ ५ ले अनुमानित संक्रमण बढेको छ ।
यस क्षेत्रका दुई देशमा भने पछिल्लो केही वर्षमा औलो संक्रमणबाट कसैको मृत्यु भएको छैन । भुटानमा सन् २०१३ यता र तिमोर–लेस्टेमा सन् २०१५ यता औलोका कारण मृत्यु हुनेको संख्या शून्य छ ।