काठमाडौं । गत भदौमा अडलट कारोबार ४८ दशलमव ९२ प्रतिशत घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको भदौ महीनाको मासिक तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा धितोपत्रको दोस्रो बजारमा कुल रू. १ अर्ब १५ करोड ४० लाख बराबरको अडलट कारोबार भएकोमा भदौमा घटेर रू. ५८ करोड ९५ लाखमा झरेको छ ।
तथ्याङ्कअनुसार साउनमा कुल २२ लाख १४ हजार कित्ता शेयर अडलटमा कारोबार भएकोमा भदौमा घटेर ५ लाख ९० हजार कित्तामा झरेको छ ।
'लगानीकर्तालाई जानकारी छैन !'
अडलट कारोबारबारे कतिपय लगानीकर्तामा जानकारी कम भएको बुझाइ ब्रोकरहरूको छ । कतिपय लगानीकर्ताले अडलट कारोबार कहाँ गर्ने, कसरी गर्नेलगायतका जिज्ञासा सामाजिक सञ्जालमा राखेको देखिन्छ । यसआधारमा अडलट कारोबारबारे जानकारी कम भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
अडलट कारोबारसम्बन्धी जानकारी नहुँदा धेरै लगानीकर्ताको हितग्राही खातामै त्यस्ता शेयर रहेको ब्रोकर बताउँछन् । धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ ।
आम लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ वैशाखदेखि हरेक दिनको नियमित कारोबारमा अडलटमा विक्री गर्न सक्ने व्यवस्था नेप्सेले गरेको छ । त्यसभन्दाअघि पनि धितोपत्र कारोबारमा अडलटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्रै कारोबार हुने गरेको थियो ।